काठमाडौं — सडक अनुशासन उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले नेपाल प्रहरीकै एक भ्यानलाई कारबाही गरेको छ। फुटपाथमा सवारी पार्क गरिएको पाइएपछि सम्बन्धित भ्यानलाई चिट काटिएको हो।

केही दिनअघि सामाजिक सञ्जालमा फुटपाथमै पार्क गरिएको उक्त भ्यानको तस्वीर सार्वजनिक भएपछि विषय चर्चामा आएको थियो। तस्वीर भाइरल बनेसँगै ट्राफिक प्रहरीले अनुसन्धान गरी सवारीको पहिचान गर्दै कारबाही अघि बढाएको जनाएको छ।
यस घटनापछि नेपाल प्रहरीले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ध्यानाकर्षण भएको जानकारी दिएको छ। सार्वजनिक सूचनामा सडक अनुशासन विपरीतका गतिविधिले सर्वसाधारणको आवागमनमा बाधा पु¥याउने मात्र नभई विद्यमान कानुनको उल्लंघनसमेत हुने उल्लेख गरिएको छ।
प्रहरीले कानून कार्यान्वयन गर्ने निकायका सदस्यहरू स्वयंले उच्च स्तरको अनुशासन पालना गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, सरकारी वा निजी जुनसुकै प्रयोजनका सवारी साधन प्रयोग गर्दा ट्राफिक नियमहरूको पूर्ण पालना गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिइएको छ।
नेपाल प्रहरीले आम नागरिकलाई पनि ट्राफिक नियमको पालना गर्न अपिल गर्दै यस्तो घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।





