चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिइसक्दा पनि नेपालले अन्तर्राष्ट्रिय विमानस्थलमा थर्मल स्क्यानरको भरमा चेकजाँच गरिरहेको छ ।
कोरोनाले युरोप र मध्यपूर्वमा आतंक मच्चाएपछि केही दिनदेखि हरेक यात्रुको चेकजाँच गर्न थालिएको हो स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूलाई ‘ज्वरो तथा रुघा देखिएकाहरूलाई अस्पताल पठाउनू’ भनेको छ ।
तर चिकित्सकहरू यसलाई गम्भीर लापरबाही मान्छन् । विमानस्थलको हेल्थ डेस्कमै खटिएका एक चिकित्सक भन्छन्, ‘पूर्वतयारी र मापदण्ड पूरा नगरिकन हचुवाका भरमा स्वास्थ्य जाँच गर्ने गरिएको छ । यही लापरबाहीका कारण देशमा जुनसुकै बेला कोरोना संक्रमण फैलन सक्छ ।’
उनका अनुसार, कोरोना संक्रमण फैलिएका देशहरूबाट आउनेहरूलाई रोक्नु वा १४ दिन क्वारेन्टाइनमा राख्नुको विकल्प छैन । चीनको वुहानबाट ४ फागुनमा नेपाल ल्याइएका १७५ जनालाई पनि ज्वरो वा अरू लक्षण नदेखिँदा नै क्वारेन्टाइनमा राखिएको थियो ।
तर अहिले त्यही चीन वा कोरोना संक्रमण गम्भीर रूपमा फैलिएका देशबाट आएकालाई भने ज्वरो छैन भनेर छाडिएको छ ।
एक चिकित्सक भन्छन्, ‘चीनबाट उद्धार गरेर ल्याएकाहरूलाई कोरोनाको कुनै लक्षण नदेखिए पनि क्वारेन्टाइनमा राख्नुको कारण १४ दिनमा कुनै पनि बेला संक्रमण देखिनसक्छ भनेर हो । अरू संक्रमित देशबाट आउनेलाई किन यसो नगरिएको हो ? बुझ्न सकिएन ।’
जनस्वास्थ्य विज्ञहरू यसबारे सरकारलाई पटकपटक सुझाव दिएको, तर सुनुवाइ नभएको बताउँछन् । एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘हामीले संक्रमण फैलिएको देशबाट आउन नदिने वा आउन दिने हो भने क्वारेन्टाइनमा राख्नुको विकल्प छैन भनेर सरकारलाई सुझाव दिएका छौं तर, सुनुवाइ भएको छैन ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने कोरोनाको बढी प्रभाव परेका पाँच देशबाट आएका नेपालीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको बताउँछन् । ‘वुहानबाट ल्याएकाहरूलाई जस्तै सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव छैन,’ देवकोटाले अनलाइनखबरसँग भने, ‘त्यस्तो देशहरूबाट फर्किएका नेपालीहरूलाई होम क्वारेन्टाइनमा बस्नुस् । घरमा पनि छुट्टै बस्नुस् र केही भइहाल्यो भने चिकित्सकको सम्पर्कमा आउनुस् भनेका छौं ।’ श्रोत :अनलाइन खबर