अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् ।
यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् । यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । ‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।
उनले थपे, ‘हाम्रो दुश्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुश्मन हो । कोरोना भाइरस । यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनु पर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
यता नेपालमा कोरोना भाइरसको संक्रमण भन्दा ज्यादा अफवाह फैलाउने काम बढी भएको पाइन्छ । त्यस्तै सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रभावकारी कदम नचालेको भन्दै जनताले आक्रोश र आपत्ति जनाइरहेका छन् । सोही बेला स्वास्थ्यमन्त्री ढकालले दिएको पछिल्लो अभिव्यक्तिले झनै आशंका उत्पन्न गराएको छ ।
यो कोरोना भाइरसबाट शक्ति राष्ट्रसहित विश्व आतंकित भइरहेका बेला मनत्रीज्यूको हल्का जवाफले सरकारलाई नै लज्जित बनाएको छ। ‘यतिबेला स्वास्थ्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले त्रासमा रहेका जनतालाई तपाईहरुको साथमा सरकार छ भन्नुपर्ने उल्टो जनतालाई निराश बनाउने काम भएको छ । जनतामाथि थप त्रास सिर्जना गर्नै काम भएको छ । यो त सिधै जनताको स्वास्थ्यमाथि नै खेलवाड गरेजस्तो भइगयो नि ! अब उहाँले आफ्नो भनाई फिर्ता लिँदै जनताको स्वास्थ्यमाथि खेलवाड नगर्ने प्रतिबद्धता व्यक्त गर्नु नै उचित हुने भन्दै जनस्तरबाट नेपाल सरकारलाई सुझाव दिन सुरुभएको छ ।