Aamsanchar

अपहरणमा परेकी बालिकाको २४ घण्टापछि उद्धार, अपहरणमा संलग्न १४ जना पक्राउ

Author Image
बिहिवार, फागुन २९, २०७६

काठमाडौं : प्रहरीले धनुषाबाट अपहरित एक बालिकालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको कब्जाबाट मुक्त गराएको छ। धनुषाको गणेशमानचारनाथ नगरपालिका-५ चिसापानीबाट हिजो दिउँसो विप्लवका कार्यकर्ताले १४ वर्षीया बालिका करिना मोक्तानलाई अपहरण गरेका थिए।

बालिका घरमा कोही नभएको अवस्थामा विप्लवका कार्यकर्ताबाट अपहरणमा परेकी थिइन्। धनुषा र उदयपुर जिल्ला प्रहरीको संयुक्त अपरेशन टोलीले बालिकालाई अपहरणमा परेको झण्डै २४ घण्टापछि बिहीबार दिउँसो सवा ३ बजेतिर उदयपुरको कटारी नगरपालिका(१ अविलास जंगलबाट अपहरणमुक्त गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार बालिकालाई हिजो दिउँसो ३ बजेतिर हतियारसहित आएका विप्लवका कार्यकर्ताले पेस्तोल देखाएर घरबाटै अपहरण गरी लगेको थिए। बालिकाको उद्धारसँगै प्रहरीले विप्लव नेकपाका १४ जना कार्यकर्तालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८ जना पुरुष र ६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले थाहाखबरलाई जानकारी दिए।

पक्राउ पर्नेमा ईलामको फाकफोक बस्‍ने २० वर्षीय मुस्कान राई, सुनसरी इटहरी बस्‍ने २८ वर्षीय विवेक खड्का, जिल्ला सर्लाही लालबन्दी बस्‍ने १६ वर्षीया रिता कार्की, ताप्लेजुङ खोक्सिङ बस्‍ने २० वर्षीय विकास राई, ईलाम बतासे बस्‍ने १७ वर्षीय आयुस मगर, उदयपुर ताप्ली गाउँपालिका बस्‍ने १८ वर्षीय अबिनास तामाङ, उदयपुर गाईघाट बस्‍ने २० वर्षीय आशिस लामा रहेका छन्।

यस्तैगरी, ताप्लेजुङ बस्‍ने बर्ष १६ की रञ्जना राई , धनकुटा पाख्रीबास नगरपालिका बस्‍ने १९ वर्षीया अनिता राई, जिल्ला कैलाली बस्‍ने १९ वर्षीया अनुष्का राउत, मोरङ आइतबारे बस्‍ने १७ वर्षीया सपना राई, भोजपुर बस्‍ने ४५ वर्षीय मणिराज राई, मोरङ बस्‍ने १५ वर्षीय आशीस श्रेष्ठ र सिन्धुली ज्यामिरे बस्‍ने १२ वर्षीय ईश्वर पुलामी मगरलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पक्राउ परेका विप्लवका कार्यकर्ताबाट ३ थान पेस्तोल, १२ थान सकेट बम, एक थान प्रेसर कुकर बम, पर्चा पम्प्लेटसहित हतियार बरामद भएको प्रहरी उपरीक्षक कार्कीले बताए। उद्धार गरिएकी बालिका र पक्राउ परेकाहरूलाई कटारीमा राखिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  थाहाँखबरबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर