भारतीय आयल निगमका प्रतिनीधिले इन्धन लिएर नेपाल भित्रिने ट्यांकरसँग बढी रकम लिएको भन्दै ढुवानी व्यवसायीले विरोध जनाएका छन् ।
उनीहरूले भारतको बरौनीबाट तेल बोकेर आएका ट्याङ्कर रक्सौलमै छाडेका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ६९ वटा ट्याङ्कर भारतीय कष्टम अगाडि रोकिएका हुन् । रोकिएका प्रतिट्यांकर २० हजार लिटर तेल छन् ।
भारतीय आयल निगमले इन्धन बोकेको ट्यांकरको भन्सार गराउन भारततर्फका एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा राखेकाहरूले जथाभावी रकम लिने गरेको गुनासो व्यवसायीहरूको छ । आईओसीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरको भन्सार क्लियरेन्स लगायत भन्सारमा आवश्यक कामका लागि मुन्सी राखेको हो । त्यस्ता मुन्सीहरु दुई दर्जनको हाराहारीमा खटिन्छन् ।
मुन्सीहरूले आफ्नो मुडअनुसार, ६ सय देखि १ हजार भारुसम्म माग्ने गरेको दाबी व्यवसायीले गरेका छन् । त्यसको रसिदसमेत उनीहरूले दिँदैनन् । अनावश्यक पैसा असुल्न थालेपछि त्यसको विरोध गर्दा व्यवसायीमाथि नै आक्रमण गर्न खोजेको व्यवसायीको भनाइ छ ।
भारतीय पक्षसँग वार्तामार्फत समस्या समाधानका लागि प्रयास भइरहेको व्यवसायीहरूले बताएका छन् ।