झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्का गरिएको भनेर गलत प्रचार गरिएको भेटिएको छ ।
निमोनिया भएको व्यक्तिलाई कोरोना संक्रमण भएको भनेर हल्ला फैलाइएको पाइएको हो ।
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई उदृत गर्दै आइतबार दिउँसो कोरोना आशंकित व्यक्तिलाई काठमाडौंको ग्राण्डी अस्पतालमा रेफर गरिएको उल्लेख गरेको थियो । यसैलाई आधार बनाएर विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए ।
तर नोबेल अस्पतालका कार्यकारी निर्देशक डा. राजेश नेपाललाई सम्पर्क गर्दा वास्तविकता प्रचार गरिए जस्तो नभएको खुलेको छ । नेपालले ती व्यक्तिलाई कोरोना संक्रमण नभएको मात्र बताएनन्, आफूहरुसँग कोरोना भए नभएको जाँच्ने प्रविधि नै नभएको सुनाए ।
उनले हल्ला कसरी फैलियो थाहाँ नभएको बताउँदै आश्चर्य लागेको बताए । बरु ती व्यक्तिलाई निमोनियाको आशंका गरेर रिफर गरेको अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए ।