Aamsanchar

अस्ट्रेलियामा ३७५ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु, एक नेपाली आइसोलेसनमा

Author Image
मङ्गलवार, चैत ४, २०७६

सिड्नी : अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा नै कोरोनाको संक्रमण देखिएपछि कूटनैतिक नियोगहरु, सामाजिक संस्थाका र व्यवसायीहरुले सचेतना र सतर्कता अपनाएको बताएका छन् ।

एकभन्दा धेरै नेपालीमा कोरोना फैलिएको आशंका गरिए पनि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले तास्मानिया राज्यमा एक जना नेपालीलाई मात्रै कोरोना देखिएको बताए ।

ती व्यक्तिलाई हाल तास्मानियाको एउटा होटेलको आइसोलेसनमा राखिएको छ । उनको अवस्था अहिले राम्रो रहेको राजदूत दाहालले बताए । यसबाहेक अस्ट्रेलियाका अन्य राज्यमा बसोबास गरेका कुनै पनि नेपालीमा सोमबारसम्म कोरोना संक्रमणको खबर नभएको बताए ।

उनले नेपाल सरकारले जारी गरेका सतर्कता सम्बन्धी सूचनाहरु अस्ट्रेलियाको नेपाली समुदायका लागि दूतावासले सार्वजनिक गरेको जानकारी दिए । गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समितिका पूर्वअध्यक्ष शेष घलेले अस्ट्रेलियाका नेपालीहरुलाई संयम रहन र अस्ट्रेलियाको केन्द्रीय सरकार तथा राज्य सरकारका स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न सुझाव दिए ।

उनले शिक्षा क्षेत्रमा रहेका नेपाली हरुले पहिले आफ्ना विद्यार्थी, शिक्षक र कर्मचारीको स्वाथ्यलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे । ‘हामीले अस्ट्रेलियाले दिएको अवसरबाट व्यवसायलाई राम्रो गरेका छौं । अहिले संसारभर स्वास्थ्य संकटकाल भए पनि छिट्टै विश्वले यो संकटलाई पराजित गर्ने र सबै व्यवसायहरु फेरि राम्रो बन्ने छन्,’ उनले भने ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर