काठमाडौँ । सरकारले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन भनेको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम तथा सन्त्रास बढिरहेको हुँदा चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको हो ।
‘विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको संत्रासका कारण आवश्यक सतर्कता अपनाउन चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्म परीक्षा सञ्चालन गरिसक्न अनुरोध गरिएको थियो,’ मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै भनेका छन्, यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र सुरु नहुन्जेलसम्म करिब तीन हप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बाललिकाहरु घर परिवारमा नै रहने छन्।
त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई)चैत ६ गतेबाट सुरु भइ १७ गते सकिने छ। ‘एसईई परीक्षा पूर्वनिर्धारित समय तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको छ,’ उक्त परीक्षाको तयारी पूरा भएको उल्लेख गर्दै अपिलपत्रमा छ, विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ।