Aamsanchar

आज पापमोचिनी एकादशी व्रत

Author Image
शुक्रवार, चैत ७, २०७६

पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग(अलग हुने हुँदा पापमोचिनी एकादशीको पनि निकै महत्व रहेको छ । पाप मोचिनी एकादशी प्रत्येक सम्वत् अथवा सालको अन्तिम एकादशी हो । यो एकादशीलाई होलिका दहनका दिन र बाँकी नवरात्रीको मध्यमा पर्ने भएकोले पनि पापमोचिनी एकादशी भनिएको हो ।

पुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार पाप मोचिनीको अर्थ पापबाट मोचन षनष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दू धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिंदैनन् कि उनीहरुले कुनै न कुनै पाप जानजान वा अन्जानमा गरेका नहुन् । तसर्थ सवैका लागि यस पाप मोचिनी एकादशी ब्रतको महत्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ । ईश्वरीय विधान अनुसार पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउनका लागि पाप मोचिनी एकादशीको ठुलो महत्व रहेको हुन्छ । यस बारेमा महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पाप मोचिनी एकादशी ब्रतको प्रसंग उल्लेख गरिएको छ । कथा प्रसंग अनुसार राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरुबाट कसरी मुक्त हुन सकिएला भनि राखेको प्रश्नमा जवाफ दिंदै पाप मोचिनी एकादशी ब्रतको महत्वबारे उल्लेख गर्नुभएको छ ।

कथा अनुसार चैत्ररथ वनमा च्यवन नाम गरेका ऋषिमूनि पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यहि बेला ती अप्सरा र मेधावी ऋषि माथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरुलाई मिलनका लागि सहयोग गर्न थाले । कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसंग झनझन नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै बिमुख भए । आफ्नो तपस्या भंग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए( ुतिमी पिशाचिनी बनु । अप्सरा मेधावीका शरणमा परिन् र गल्तीको प्राश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय बिनय गरिन् । फलस्वरुप मेधावी ऋषि आफैंले मञ्जुघोषालाई सम्झाई(बुझाई गरी चैत्र कृष्ण एकादशीको ब्रत अर्थात पाप मोचिनी एकादशीको ब्रतको विधि सविस्तार बताईदिए । कामयोग निमग्न भएर तेज लोप भईसकेका ऋषि आफैं पनि पाप मोचिनी एकादशीको ब्रत बसे । ब्रतको प्रभावले अप्सरा पिशाच योनिबाट मुक्त भइन् र उनी अझ सुन्दर भई स्वर्ग तर्फ लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसंग अनुसार पाप मोचिनी एकादशी ब्रतको महत्व अहिले पनि उतिकै रहेको छ ।

पाप मोचिनी एकादशीको ब्रतका क्रममा भगवान् विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ । अघिल्लो दिन सात्विक भोजन एकपटक गर्नुपर्दछ । मनमा रहेको भोगविलासको भावना त्याग गर्दै भगवान बिष्णुको नाउँ लिनु पर्दछ । एकादशीका दिन सूर्योदय कालमै स्नान गरी विधिपुर्वक ब्रत संकल्प गर्नु पर्दछ । यसरी ब्रत संकल्प गरेर षोडशोपचार विधिले श्री विष्णुको पूजा गर्नु पर्दछ । एकादशी ब्रत समाप्ति पश्चात निराहार रहि रात्री जागरण गर्नु पर्दछ । यसो गर्नाले अझ धेरै गुणा पुण्य फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन समेत स्नान गरी विष्णु भगवानको पूजा गर्नु पर्दछ । त्यसपछि ब्राह्मण भोजन गराएर दक्षिणा सहित विदा गर्नु पर्दछ र आफुले पनि भोजन गर्नु पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१