इलाम । इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको थियो ।
बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए । विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आकृतिले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टा बाँधिएको र टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा शव भेटिएको थियो ।
अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएकोमा एक जनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका हुन् ।रोशन राईले आफूले आकृतिलाई बलात्कार गरी हत्या गरेको स्वीकारेको एसपी पाण्डेले बताए । रोशन सूर्योदय–१३ लक्ष्मीपुरका हुन् ।