काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म १३ हजार ५० जनाको मृत्यु भएको छ।
आइतबार बिहान ७:३० बजेसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट विश्वभर ३ लाख ८ हजार १० जना संक्रमित भएका छन्। संक्रमित व्यक्तिमध्ये ९५ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस विश्वका १८८ भन्दा बढी देशमा देखा परिसकेको छ। चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।
कोरोनाका कारण इटलीमा शनिबार एक दिनमै ७ सय ९३ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा ४ हजार ८२५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। इटालीमा ५३ हजार ५ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमा ६ हजार ५५७ जना नयाँ बिरामी रहेका छन्।
कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि बढ्दै गएको छ। त्यहाँ एकैदिन ७ हजार बढी कोरोना संक्रमणका नयाँ बिरामी भेटिएका छन्। अमेरिकामा पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ४ जना नयाँ संक्रमित भेटिएका हुन्। अमेरिकामा कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप ८४ जनाको मृत्यु भएको छ।
योसँगै अमेरिकमा ३ सय ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। आइतबार बिहानसम्म अमेरिकामा २६ हजार ६८७ जनामा कोरोनाको संक्रमण देखिएको छ। बंगलादेशमा अहिलेसम्म २४ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण बंगलादेशमा ४ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म ३३२ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण भारतमा ५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा अहिलेसम्म ६४५ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण पाकिस्तानमा ३ जनाको मृत्यु भएको छ।
भुटानमा अहिलेसम्म २ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण भुटानमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन। मालदिभ्समा अहिलेसम्म १३ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण मालदिभ्समा कसैको पनि मृत्यु भएको छैन।
अफगानिस्तानमा अहिलेसम्म २४ जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण अफगनिस्तानमा कसैको पनि मृत्यु भएको छैन। नेपालमा अहिलेसम्म १ जनामा संक्रमण देखिएको छ। उनी पनि उपचारपछि निको भइसकेका छन्। श्रोत: स्वास्थ्य खबर