बिर्तामोड । सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गरेको आरोपमा प्रदेश–१ का १४ जिल्लामा पक्राउ परेका तीन सय सात जनालाई प्रहरीले सम्झाईबुझाई छाडेको छ ।
उनीहरुलाई अबदेखि सडकमा नहिँड्न भन्दै सम्झाएर छाडिएको हो । आइतबार दिउँसोसम्म झापासहित पूर्वका जिल्लामा ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई पक्राउ गरी सम्झाएर छाडिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लकडाउनको आज छैठौं दिन दिउँसो ४ बजेसम्ममा दुई जनाले मात्रै उल्लघन गरेको र उनीहरु पनि नियन्त्रणमा लिएर अब गल्ति नगर्ने सर्तमा छाडिएको जनाइएको छ । यस्तै ‘लकडाउन’ उल्लङ्घन गर्ने दुई हजार ३९ वटा गाडी पनि कारबाहीमा परेका छन् ।
दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’को घोषणा गरेको छ ।