काठमाडौं । कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरूको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरूमा भाइरसहरू हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटाहरू शरीरभित्र जाने सम्भावना हुन्छ । भाइरस रहेको सतह वा बस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि संक्रमण फैलिन्छ ।
कोरोना भाइरस दैनिक काम गरिने सतहहरू, ढोकाको ह्याण्डल जस्ता स्थानमा घण्टौँसम्म जीवित रहन्छन् । भाइरस कति समयसम्म जीवित रहन्छ भन्ने ती बस्तु वा सतहको माथिल्लो भाग कुन सामग्रीले बनेको छ भन्ने कुराले निर्धारण गर्छ ।
नोवेल कोरोना भाइरस नयाँ भएकाले यसका बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकी छ । नोवेल कोरोना भाइरस दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ ।
काठ : फर्निचर, सजावटका सामग्रीमा भाइरसको आयु चार दिनसम्म रहन्छ ।
सिसा : गिलास, बोटल, कचौरा, मगमा भाइरसको आयुः पाँच दिनसम्म रहन्छ ।
प्लास्टिक : बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटलमा भाइरसको आयु दुईदेखि तीन दिनसम्म रहन्छ ।
स्टीनलेस स्टिल : रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनमा भाइरसको आयुः दुईदेखि तीन दिनसम्म रहन्छ ।
कार्डबोर्ड : सिपिङ्ग बक्समा भाइरसको आयुः २४ घण्टासम्म रहन्छ ।
मेटल (धातु) : ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडामा भाइरसको आयु पाँच दिनसम्म रहन्छ ।
कप्पर (तामा) : तामाका भाँडा, पूजा सामान, पानी खाने जगमा भाइरसको आयुः चार घण्टासम्म रहन्छ ।
आल्मुनियम : आल्मुनियमका झ्याल ढोका, भाँडा, बोटलमा भाइरसको आयु दुईदेखि ८ घण्टासम्म रहन्छ ।
सेरामिक (माटोका सामग्री) : प्लेट, मग, कचौरा, गमलामा भाइरसको आयु पाँच दिन रहन्छ ।
कागज : कागजमा कोरोना भाइरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही भने पाँच दिनसम्म जीवित रहन्छन् ।
खाना: कोरोना भाइरस अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफूल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ ।
पानी : कोरोना भाइरस पिउने पानीमा पाइँदैन ।