
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँग भएको सम्झौता रद्द भएको खुलासा भएको छ ।

सल्लाहकारहरुले चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे गलत ब्रिफिङ गर्दै निर्णय सही भएको प्रधानमन्त्रीलाई बताएका थिए । तर, सल्लाहकारको सो घेरा तोड्दै प्रधानमन्त्रीका एक विश्वासपात्रले स्वास्थ्य सामग्री खरिदमा ठूलो आर्थिक चलखेल भएको तथ्यसहित सविस्तार प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधानमन्त्री एक्सनमा उत्रिएको उच्च स्रोतले रातोपाटीलाई बतायो ।

उच्च स्रोतका अनुसार ओम्नी समूहलाई नियमविपरित चीनबाट सामान ल्याउने जिम्मा दिलाउन प्रधानमन्त्रीका केही सल्लाहकारकै भूमिका रहेको थियो ।

स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत तर प्रधानमन्त्रीले बालुवाटारमा पुगेका ती विश्वासपात्रबाट यथार्थ जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई तत्काल सम्झौता रद्द गर्न ठाडो आदेश दिएका थिए ।
प्रधानमन्त्रीको ठाडो आदेशसँगै स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरिएको जानकारी दिएको थियो ।
पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको उनले बताएका थिए ।


