
नेपालमा फसेका अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश फर्काउनका लागि अष्ट्रेलियन दूतावासले बुधबार साँझ नेपालबाट उडान भर्दैछ । काठमाडौँबाट २ सय ५२ यात्रु तथा २५ जना ‘क्रु–मेम्बर’ बोकेर अष्ट्रेलियाको ब्रिसबेन उड्न लागेको उडानमा लाखौँको घोटाला भएको तथ्य फेला परेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले नेपाल वायुसेवा निगमलाई पत्र लेखेर चार्टर्ड फ्लाइटका लागि आग्रह गर्यो र चार्टर्ड फ्लाइटको शुल्क माग गर्यो ।

त्यसपछि नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १ सय डलरका दरले शुल्क लाग्ने भन्दै कोटेशन पठायो । त्यतिबेलासम्म यहाँ कुनै ट्राभल एजेन्सीको प्रवेश भएको थिए । तर जब पछि एग्रिमेण्ट गर्ने बेला भयो, त्यसपछि भने बीचमा ट्राभल एजेन्सी घुसाएर नेपाल वायुसेवा निगमका कर्मचारी तथा ट्राभल एजेन्सीले कमिसन खाने बाटो निकाले ।
नेपाल एअरलाइन्सको नीति अनुसार यदि कुनै ट्राभल एजेन्सीले विमान चार्टर गरेको अवस्थामा उक्त एजेण्टले ५ प्रतिशत कमिसन लिन पाउँछ । त्यही ५ प्रतिशत कमिसनका लागि नेपाल वायुसेवा निगमका कर्मचारीको मिलेमतोमा बोन ट्राभल्सलाई उक्त विमान चार्टर्डको एजेण्ट बनाइएको छ ।

२७ लाख ४५ हजार कमिसनको खेल
बुधबार साँझ ५ः३० बजे काठमाडौंबाट उडान भर्ने नेपाल वायुसेवा निगमको एअरबस ३३० विमान मलेसियाको क्वालालुम्पुर पुगेर इन्धन भर्नेछ । त्यसपछि क्वालालुम्पुरबाट अष्ट्रेलियाको ब्रिसबेन विमानस्थलमा पुगेर यात्रुलाई ओराल्नेछ र त्यहाँबाट पुनः नेपाल फर्कने छ ।
अहिले काठमाडौंबाट मलेसियासम्मको यात्राको समय ४ घण्टा ३० मिनेट रहेको छ भने क्वालालुम्पुरबाट अष्ट्रेलियाको ब्रिसबेनसम्मको यात्राको समय ८ घण्टा रहेको छ । यसरी हेर्दा काठमाडौंबाट अष्ट्रेलियाको ब्रिसबेन पुग्न १२ घण्टा ३० मिनेटको समय लाग्नेछ ।
त्यसैगरी त्यहाँबाट फर्कँदा पनि सोही समय नै लाग्नेछ । यसरी हेर्दा सोझो हिसाबले पनि काठमाडौं–अष्ट्रेलिया–काठमाडौं उडानको समय करिब २५ घण्टाको हुनेछ ।
नेपाल वायुसेवा निगमले २५ घण्टाको १८ हजार १ सयको दरले भाडा लिँदा ४ लाख ५२ हजार ५ सय डलर भाडावापत पाउनुपर्ने हुन्छ ।
चैत १९ गते बुधबारको अमेरिकी डलरको खरिद मूल्य १ सय २१ रुपैयाँ ३६ पैसा रहेको छ । यही मूल्यलाई आधार मान्ने हो भने निगमले २५ घण्टा उडानको चार्टर वापतको रकम ५ करोड ४९ लाख १५ हजार ४ सय रुपैयाँ पाउनुपर्ने हुन्छ ।
तर नेपाल वायुसेवा निगमले भने त्यो रकममा ५ प्रतिशत कमिसन काटेर मात्रै पाउनेछ । किनभने एम्बेसी र नेपाल वायुसेवा निगमको बीचमा ट्राभल एजेन्सी घुसाएर निगमकै वाणिज्य विभागका कर्मचारीले कमिसन खान यो खेल खेलेका छन् । निगमले कमिसनवापत २७ लाख ४५ हजार ७ सय ७० रुपैयाँ ट्राभल एजेन्सीलाई बुझाउँदैछ । यसको अर्थ निगमलाई सोझै काम आउँदा पनि २७ लाख ४५ हजार घाटा भएको छ ।
अष्ट्रेलियन दूतावासले नेपाल वायुसेवा निगमलाई पत्र लेख्दा र अष्ट्रेलियन सरकारलाई पत्र लेख्दा पनि विमान चार्टर गर्ने पार्टीमा अष्ट्रेलियन एम्बेसी नै रहेको उल्लेख गरेको छ ।
स्रोतबाट प्राप्त ३० मार्चको मितिमा दूतावासले जारी गरेको पत्रमा चार्टर गर्ने पार्टी अष्ट्रेलियन दूतावास रहेको उल्लेख गरेको छ । रातोपाटीबाट


