काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न सरकार एक्लैले काम गरेर हुँदैन । नागरिकले पनि आफ्नो ठाउँबाट सक्ने सहयोग मन खोलेर गर्नु पर्छ ।
बलिवुड वादशाह शाहरुख खानले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरेका छन् । उनले आफ्नो चार तले भवनमा क्वारेन्टाइन बनाउन सरकारलाई प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ । बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।
शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
भारतमा कोरोना भाइरसको प्रकोप बढेसँगै विभिन्न कलाकार तथा व्यापारीहरुले सहयोग गरिरहेका छन् । अहिले भारतीय कलाकारहरुले कोरोनाविरुद्ध लड्न सरकारलाई धमाधम आर्थिक सहयोग समेत गरिरहेका छन् ।