बिर्तामोड । लकडाउनमा असहाय तथा विपन्न परिवारलाई स्थानीय तहका जनप्रतिनिधहरुले राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिरहेका छन् ।
वडा कार्यालयबाट पठाएको असहाय तथा विपन्नको नामावली अनुसार पालिकाहरूले राहत उपलब्ध गराउन नसक्दा वडा कार्यालयहरूले अन्यत्रबाट सहयोग जुटाउने कसरतमा लागि परेका छन् ।
यस्तै सहयोगको अपेक्षामा रहेका मेचीनगर नगरपालिका १५ नम्बर वडा कार्यालयलाई मेघा सिमेन्ट इण्डष्ट्रिज प्रालि ज्यामिरगढीले ४० प्याकेट राहत उपलब्ध गराएको छ ।
नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै मेघा सिमेन्टले वडा कार्यालयलाई राहत उपलब्ध गराएको हो । मेघा सिमेन्टका प्रबन्ध निर्देशक रजत साहेवालाले सोमबार वडा कार्यालयमै पुगेर वडा अध्यक्ष गुणराज भट्टराईलाई सो राहत हस्तान्तरण गरेका थिए ।
यस्तो सङ्कटको बेलामा कोही कतै भोकै नबसौँ भन्ने उद्देश्यले लिएर असहाय तथा विपन्नलाई वडा कार्यालयमार्फत राहत उपलब्ध गराएको कम्पनीका अध्यक्ष मिनप्रकाश मैनालीले जानकारी दिए । साबिक ज्यामिगरढी गाविस हाल मेचीनगर १५ मा ६ सय बढी विपन्न परिवारलाई राहत उपलब्ध गराउनु पर्नेमा नगरपालिकाबाट २ सय परिवारका लागि मात्र राहत पाएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । बाँकी चार सय परिवारलाई यस्तै दाताबाट सहयोगको अपेक्षा गरिरहेको र सहयोग आउने क्रम जारी रहेको उनले बताए ।