भद्रपुर । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग वन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई राहतस्वरुप चामल प्रदान गरेका छन् ।
नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका आफ्ना कामदारलाई निःशुल्क चामलसहित सबैलाई दुई हजार रुपैयाँ सापटीस्वरुप दिएका छन् । लकडाउन खुलेर काम सुचारु भएपछि सो दुई हजार रुपैयाँ उनीहरुको पारिश्रमिकबाट काटिने पराजुलीले जानकारी दिए ।
उनले अहिले बन्द रहेका आफ्नो भद्रपुर ६ स्थित पराजुली चिया प्रशोधन कारखाना, चिया बगान र मेचीनगर १५ स्थित बायोमास उद्योगमा कार्यरत १७० भन्दा बढी मजदूरलाई निःशुल्क रुपमा चामल र सापटीस्वरुप रकम उपलब्ध गराएको बताए ।
अत्यावश्यक वस्तुमा पर्ने खाना पकाउने ग्यासको उद्योगमा भने सामाजिक दूरी कायम राखी श्रमिकहरुले काम गरिरहेकोले उनीहरुलाई भने सो सुविधा नरहेको पराजुलीको भनाइ छ । उनले संकटको बेला आफ्ना कामदार र मजदूरलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै आफ्ना श्रमिकको संरक्षण गर्नु उद्योगीहरुको दायित्व पनि रहेको उनको भनाइ छ ।
सहज परुन्जेल मजदुर आफ्ना केही असहज हुने बित्तिकै मजदुरलाई निकाल्ने, उनिहरुको दुख पिंडा नबुझने गरेको भनेर धेरै उद्योगीहरु आलोचित बनिरहेको अबस्थामा भद्रपुरका युवा व्यवसायी आदित्य पराजुलीले मजदुरहरु प्रति गरेको मायाँ सहयोगको यतीवेला झापामा चौतर्फी प्रशंषा हुन थालेको छ ।