पृष्ठभूमिः अहिले हामी अकल्पनीय विश्वव्यापी महामारीको चपेटामा छौं । कोरोना भाइरस (COVID-19) को महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व कठिन समय र परिस्थितिबाट गुज्रिरहेको व्यहोरा सबैलाई जानकारी नै छ । चिनको वुहान प्रान्तबाट फैलिएको यो भाइरस अहिले विश्वका २०९ भन्दा बढी देशहरुमा फैलिइ सकेको छ । यो भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित छ भने स्पेन, इटाली, जर्मनी, चिन, फ्रान्स, बेलायत लगायतका देशहरु समेत वढी प्रभावित रहेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलेविकसित देशहरु नै कोरोना भाइरसबाट बढी संक्रमित रहेको देखाएको छ । कोरोना भाइरसको संक्रमणबाट सार्क मुलुकहरु भारत, पाकिस्तान लगायत सबै देशहरुमा संक्रमितहरुको संख्या बृद्धि भइरहेको छ । विश्वमा संक्रमितहरुको संख्या दिनानुदिन बढ्दो अवस्थामा नै रहेको छ । हालसम्म यसको उपचारको लागि खोप पत्ता लागेको छैन । यस चुनौतिको सामना गर्न सबै एकजुट हुनुपर्ने अवस्था आएको छ । समस्याको आ“कलन बिश्वमा कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्या भयावह हुने अनुमान गरिएको छ । हाल सम्म १२ लाखभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या ७७ हजारभन्दा बढी पुगिसकेको अवस्था छ । केहीले यसलाई तेस्रो विश्वयुद्ध सरहको संज्ञा दिएका छन् भने यस भाइरसकाका कारण दोस्रो विश्वयुद्धको भन्दा बढी संख्यामा मानिसहरु प्रभावित हुने आँकलन गरिएको छ ।
यो कोरोना भाइरसको कारण विश्वमा चरम आर्थिक मन्दी आउन सक्ने अर्थ्बिज्ञहरुले औंल्याएका छन् । जसको कारण लाखौंको संख्यामा रोजगार गुम्न सक्ने र गरिवी बढ्न सक्नेतर्फ संकेत गरिएको छ । रोकथामका लागि विश्वका मोडल अहिले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि विश्वको उत्कृष्ट मोडलको रुपमा दक्षिण कोरियाले प्रस्तुत गरेको छ ।
अन्य देशहरुमा लकडाउन भइरहँदा यहाँको जनजीवन सामान्य रहेको छ । दक्षिण कोरियाले अहिले सफलता पाउनुमा सन् २०१५ मा MERS भाइरसबाट ३८ जनाको ज्यान गएपछि सरकारको ठूलो आलोचना भएको थियो । त्यसबाट सिकाई प्राप्त गरी यसपाली समयमा नै पूर्व तयारी गरेका कारण सफलता हाँसिल गर्यो ।
यहाँ सरकारले पहिलोपटक जनवरी २०मा कोरोना भाइरस देखापर्ने बित्तिकै आपत्कालीन बैठकबसी सम्पूर्ण तयारी गर्ने निर्णय गर्यो । त्यसपछि औषधि कम्पनीहरुलाई टेस्टिङ किट उत्पादन गर्न लगाई प्रतिदिन २० हजार किट उत्पादन हुन थाल्यो । त्यसपछि सम्पूर्ण जनताहरुलाई धमाधम परीक्षण गर्न थालियो । जनतालाई सहज बनाउन सार्बजनिक ठाउँहरुमा ६०० भन्दा बढी Testing Booth बनाई जाँच्न पाउने व्यवस्था गरिएको छ । यसबाट संक्रमितहरुको पहिचान हुन थाल्यो । सामान्यलाई घरमै बस्ने र गम्भीरलाई अस्पताल राख्ने व्यवस्था गरियो बिदेशबाट आउने र संक्रमितहरुलाई एप्स र सीसीटीभीबाट निगरानी गर्ने व्यवस्था मिलाइयो । हाल यस भाइरसको मृत्युदर ०.७ प्रतिशत मात्र रहेको छ । कम्पनीहरुले स्वतःस्फूर्त रुपमा उद्योगहरु बन्द गरेका छन्, उनीहरुलाई सरकारले पूर्ण सहयोग गरेको छ । सरकारलाई जनताले पूर्णरुपमा साथ दिएका छन् । दक्षिण कोरियाको सरकार कोरोना भाईरस संक्रमण रोकथामको मुख्य ४ वटा रणनीतिमा लागीपरेको छ ।
क) संकट ठूलो आउनुभन्दा अघि नै एक्सन लिनु ।
ख) अधिक रुपमा जाँच, पटक–पटक र सुरक्षित रुपमा जाँच गर्ने ।
ग) संक्रमितहरु पत्ता लगाउने, अलग राख्ने र निगरानी बढाउने ।
घ) संक्रमण रोक्न जनतालाई सहभागी गराउने ।
अहिले अन्य देशहरुले पनि यो मोडललाई अपनाउँदै छन् । यसैगरी क्युवा, सिंगापुर, ताईवान र जर्मनीको पनि आफ्नै सफल मोडलहरु रहेका छन् । नेपाल हामीले पनि केही सिकौं नेपालमा पहिलोपटक कतार एयरवेजबाट आएको यात्रुबाट कोरोना भाइरस पोजेटिभ देखियो ।
हाल सम्म ९ जना संक्रमित भई एक जना निको भइ सकेको अवस्था छ । नेपाल सरकारले यही चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । यसअघि बिफर, मलेरिया उन्मुलन गरेको अनुभव नेपालसँग भएतापनि अझै पनि ठूलो महामारीलाई थाम्न सक्ने पर्याप्त पुर्वाधार छैन । यसको लागि स्वयम् जनता नै रोकथाम र नियन्त्रणको लागि सतर्क हुन जरुरी छ । सामाजिक दुरी कायम गर्ने, सुरक्षा सामग्रीको प्रयोग र घरमै सुरक्षित बातावरणमा रहने उपायहरु अपनाउनु पर्दछ । आगामी दिनमा यस्ता संक्रमणहरुलाई परास्त गर्न केही राम्रा सिकाई तथा सम्भावनालाई लागू गरौं ।
१. व्यक्तिगत सरसफाईलाई निरन्तरता बिगतमा साबुनपानीले हात धुन सिकाउन हामीलाई बिदेशीनै आउनुपर्ने अवस्था थियो । यतिवेला सबै नेपाली हामी संक्रमणबाट बच्न पटक– पटक साबुन पानीले हात धुने, सेनीटाइजरको प्रयोग, मास्क लगाउने कार्य गरिरहेका छौं । अब हामीले सरसफाईको महत्वबुझ्यौं यसलाई निरन्तरता दिऔं ।
२. आत्म निर्भरताको दिशामा हामीले हिजोका दिनमा भारतले नाकाबन्दी गर्दा को अवस्थामा पनि घुँडा टेकेनौ । अहिले पनि सीमा नाकाहरु बन्द गरिएका छन् । अब हामीले हाम्रो ठाउँमा उत्पादन हुन नसक्ने नून मात्र किनेर भान्सामा खान चाहिने सम्पूर्ण कुराहरु उत्पादन गर्न सक्ने सबैले सामथ्र्य राख्न सक्नुपर्छ । हामीलाई चाहिने खाद्यान्न, मासु फलफूल, दूध, अण्डामा आत्मनिर्भर हुने तिर लाग्नु पर्दछ । अब तरकारी किन्न झोला बोकेर बजारतिर जानुभन्दा अलिकति बारी खोस्रेर वा छतमा फलाउने हो कि ! यसको लागि टोल बिकास संस्थाहरुले उत्पादन र बजारीकरणमा भूमिका खेल्नुपर्ला । भोलिको दिनमा महिनौ बन्द हुँदा पनि अभाव सिर्जना नहोस् ।
३. स्वास्थ्य सरोकार अहिले कोरोना भाइरसको संक्रमण भइरहँदा हामीसंग व्यवस्थापन गर्न सक्ने स्वास्थ्य संस्थाहरु पर्याप्त भएनन् । अहिले हामी बिद्यालय र सार्वजनिक भवनहरुलाई क्वारेन्टाइन र आइसोलेसन अस्पताल बनाउन लाग्दै छौं । भोलि साँच्चै नै महामारी फैलिइ भयावह स्थिति आएमा हामीले कस्तो स्वास्थ्य सेवा पाउँछौं होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले आगामी दिनमा हरेक गाउँपालिका र नगरपालिकाले कम्तीमा एउटा सुबिधासम्पन्न अस्पताल बनाउनेतर्फ स्थानीय जनप्रतिनिधिहरुको ध्यान जान जरुरी छ ।
४. सूचना प्रविधिमा विस्तार हुन त अहिले नेपालले सूचना प्रबिधिको क्षेत्रमा धेरै फड्को मारेको छ । बैकिङ क्षेत्रमा एटिएम, मोवाइल बैकिङ, व्यवसाय क्षेत्रमा मर्चेन्ट बैकिङको अवधारणा आएका छन् । पत्रपत्रिकाहरुको अनलाइन माध्यमबाट पहुँच भने धेरै मात्रामा पुगेको देखिन्छ तर अनलाइन सेवालाई ग्रामीण क्षेत्रमा अझै विश्वास गर्न सकेको छैन । अझै पनि सिरानीभित्र पैसा राख्ने चलन रहिरहेको छ । बिद्यालयहरुले Distance Learning Course डिजाइन गर्न सकेका छैनन् । कार्यालय नगइ Work From Home को अवधारणा आउन सकेको छैन । अबको दिनमा अनलाईन सपिङ गर्ने प्रणालि विकास गर्नु जरुरी छ । ग्रामीण क्षेत्रका समुदायहरुमा प्रविधि साक्षरतालाई समेत अघि बढाउनु जरुरी छ ।
५. जनतालाई साझेदार बनाउने हामीले गणतन्त्र प्राप्तिपछि तिन तहको सरकार प्राप्त गरेका छौं । यस संक्रमणकालीन अवस्थामा स्थानीय सरकारले उल्लेखनीय कार्य गरेर जनताको मन जित्न सक्नुपर्दछ ।यस अवधिमा हामी स्वस्थ छौं भन्ने महशुस गराउन कोरोनाको टेष्ट गर्न सक्ने वाताबरणतयार गर्ने, हरेक टोल विकास संस्थाहरुमार्फत विपन्न पहिचान, विदेशबाट आउनेहरुको सूचना राख्ने, घरघरमा खाद्यान्न व्यवस्थापन गर्ने, किसानका उत्पादनलाई बजारिकरण गरिदिने साथै स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउन सके स्थानीय सरकारले जनताको मन जित्न सक्ने छन् । अहिलेको अवस्थामा सबै फुटेर होइन, जुटेर यस कोरोनाबिरुद्धको लडाइँमा हातेमालो गरेर जीत हासिल गरौं ।
(सामाजिक अभियन्ताको रुपमा परिचित गिरी सहारा नेपालका कार्यकारी प्रमुख तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुन् ।)