सप्तरी। सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा राहत वितरण गरिरहदाँ विवाद उत्पन्न भएको छ । राहत थोरै दिएको भन्दै स्थानीयवासीले राहत वितरणको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा महिला बालबालिका लगायतको सहभागिता देखिन्थ्यो । राहत लिन पुगेका कोरोना पीडितहरुले राहत सामग्री कम वितरण गरेको भन्दै प्रदर्शन गरेका थिए ।
प्रतिपरिवार २० किलोग्राम अर्थात चार पल्ला चामलको माग गर्दै वडा नम्बर ५ वासीले विरोध प्रदर्शन गरेका हुन् । सरकारले राहत वितरण कार्यविधि जारी गरेपनि नगरपालिकाले आफु खुसी राहत वितरण गरेकाले सोको विरोध गरेको एक प्रदर्शनकारीले जानकारी दिए ।
यता, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले अरुको उक्साहटमा प्रदर्शन गरेको बताए । राहत सम्बन्धि जानकारी नहुँदा जनतामा आक्रोश देखिएको उनले प्रतिक्रिया दिए । गौतमले प्रतिव्यक्ति साढे तीन किलो चामाल, ३ सय ग्राम दाल, ५ सय ग्राम खाने तेल, १ किलो तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको जानकारी दिए । ४ जना परिवार भएकाहरुका लागि १४ किलो र सो भन्दाबढी परिवारलाई सोही अनुसारको राहत प्रदान गरिएको उनले बताए ।