धनुषाको बटेश्वर गाउँपालिकामा गरिबलाई दिनुपर्ने राहत धनी व्यक्तिहरुलाई बाँडेपछि बबाल भएको छ।
शुक्रबारदेखि बटेश्वर गाउँपालिका १ लक्ष्मी निवासमा जनप्रतिनिधिहरुले धनी व्यक्तिलाई राहत वितरण गरेको भन्दै राहत नपाएकाहरु बबाल मच्चाएका हुन्। करिब दर्जनौंको संख्यामा रहेको स्थानीय गरिब परिवारका व्यक्तिहरुले राहत बोकेको ट्याक्टर नै नियन्त्रणमा लिएका थिए।
उनीहरु राहत बोकेको ट्याक्टर नियन्त्रण्मा लिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो। स्थानीय दर्जनौं व्यक्तिले आफूहरु गरिब भए पनि राहतको सूचीमा समावेश नगरेको गुनासो गरे। ट्याक्टर नियन्त्रणमा लिएर उनीहरुले जनप्रतिनिधिलाई गालीगलौज समेत गरेको प्रहरीले जनाएको छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण मजदुरी गर्नेहरुलाई परिवार चलाउन पनि धौधौ परेको छ। यस्तो परिस्थितिमा जनप्रनिधिले आफ्ना आसेपासे र नातागोताका व्यक्तिलाई राहत वितरणको सूचीमा राखेपनि आफुहरुलाई राहतबाटै बंचित गर्ने षड्यन्त्र गरेपछि विरोध गरेको स्थानीय घुरन महतोले बताए।
उनले गरिब विपन्न परिवारलाई राहत बाँड्नुपर्ने माग गरे। उनले भने, ‘हामी समस्यामा छौं। तर राहत वितरण गर्ने सूचीमा नाम राखेन। तर २ विघा जग्गा र पक्की घर भएकाहरुलाई मात्र राहत विरण गर्न थालेपछि विरोध गरेका छौं।’ उनले आफूहरुको औकात नभए पनि राहत नदिएको गुनासो समेत गरे।
यस्तै स्थानीय रामबहादुर महतोले राहत वितरणका लागि गरिएको विवरण संकलनमै जनप्रतिनिधिले षड्यन्त्र गरेको आरोप लगाए। उनले दिनभर मजदुरी गरेर खाने र लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहतबाट वञ्चित गरेको आक्रोस पोखे। उनले राहतमा विभेद् गरेकाले वितरण गर्न नदिने समेत बताए।
यता, वडाध्यक्ष शैलेन्द्र कुमार महतोले राहत वितरणका लागि संकलन भएको विवरणमा तलमाथि भएको हुनसक्ने स्वीकारे। उनले राहत पाउनेको सूचीमा छुटेकाहरुको नाम समावेश गरी राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए।
विरोध भएपछि तत्काल राहत विरण स्थगित भएको पनि उनको भनाइ छ।