अर्जुनधारा । कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले जारी गरेको लकडाउनमा प्रेमिका भेट्न झापा आएका युवा प्रहरीको फन्दामा परेका छन् ।सिरहाबाट मोटरसाइकलबाट झापाको अर्जुनधारा आएका एक प्रेमीसहित उनका साथी प्रहरीको फन्दामा परेका हुन् ।
अर्जुनधारा ८ को कुशल चौकस्थित एक घरमा उनीहरु शुक्रबार राति आएका थिए ।छिमेकीले बाहिर जिल्लाबाट दुई युवा अर्जुनधारा आइ बास बसेको खबर प्रहरीलाई जानकारी गराएका थिए । सोही जानकारीका आधारमा प्रहरीले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको थियो ।
ती युवाहरुलाई शनिश्चरे प्रहरी चौकी, सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मीको टोलीले बास बसेको घरबाट उद्दार गरी क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।उनका अनुसार बास बस्न दिने घरका परिवारलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । उनीहरुलाई घरबाहिर ननिस्कन र छरछिमेकमा आवतजावत नगर्न भनिएको शाखा प्रमुख बस्नेतले बताए ।
अर्जुनधारा नगरपालिकाले स्थापना गरेको ४ नम्बरस्थित क्वारेन्टाइनमा अहिले ७ जना व्यक्ति रहेका छन् भने नगरभित्र ३८ जना होम क्वारेन्टाइनमा रहेका छन् ।