
राष्ट्रपति विद्यादेवी भण्डारी

नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उनले अब अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने खाँचो औंल्याएकी छन् ।
‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
नयाँ वर्षको अवसरमा उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वांगीण विकास र प्रगतिको कामना पनि गरेकी छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)
नयाँ वर्ष २०७७ ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गरेका छन् ।
कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याएका छन् ।
जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गरेका छन् । विषम परिस्थितिका बीच नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली
नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताएका छन् । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।’
प्रधानमन्त्री ओलीले भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।’
सभामुख अग्निप्रसाद सापकोटा
नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटोमा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न आह्वान गरेका छन् ।
नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध संघर्ष गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटाले भनेका छन्, ‘नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ संकल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।’
जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उनले कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा मिलोस् भन्न कामना पनि गरेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)
नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन् । नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रचण्डको सन्देशमा लेखिएको छ, ‘नयाँ वर्षले कोरोना ९कोभिड–१९० भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।’
प्रचण्डको सन्देशमा थप लेखिएको छ, ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।’
प्रचण्डले आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न अपील समेत गरेका छन् ।
उनले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् । उनले आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको पनि बताएका छन् ।
नयाँ वर्ष वि।सं। २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाईसघाइरहेको बताएका हुन् ।
नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । नेता देउवाले लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयमका साथ कार्य गर्न–गराउन सबैमा आग्रह पनि गरेका छन् । श्रोत अनलाईन खबर


