पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्नेलाई कोरोना भाइरस कोभिड १९ को आशंकामा बुधबार गरिएको र्यापिड टेष्टमा सबैजनाको नतिजा नेगेटिभ देखिएको छ ।
दुई जना कामदारसहित दुई सय ९८ जनाको र्यापिड टेष्ट नतिजा नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनीले बताइन् । ब्लक ए मा बस्ने दुई जनालाई कोरोना पोजेटिभ देखिएपछि ए ब्लकमा बस्ने सबैलाई र्यापिड टेष्टद्वारा परीक्षण गरिएको उपप्रमुख पुडासैनीले बताइन् ।
गत चैत्र ५ गते बेलायतबाट आएका एउटै परिवारका दुई जनालाई कोरोना देखिएको थियो । सनसिटी अपार्टमेन्टको ब्लक ए मा बस्दै आएका कोरोना संक्रमित आमा छोरालाई पाटन अस्पतालमा राखिएको छ । त्यहाँ कार्यरत दुई जना कामदारको पीसीआर परीक्षणको लागि स्वाब लिएको छ ।
सोही परिवारका अर्का एक जना महिला(बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो । उनको दोस्रो चरणमा परीक्षण हुनेछ । उनी पनि अस्पतालमै आइसोलेसनमा छिन् ।