धादिङ : देशमा कोराना संक्रमणको संख्या बढदै जान थालेपछी सावधानी अप्नाउन धादिङमा हरेक दिन बिहान बेलुकी खुल्दै आइरहेका खाद्यान्न पसलहरु वैशाख १० गतेसम्म खोल्न नपाइने भएको छ।
यसैगरी बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल आयात गर्न पनि पूर्ण रुपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्ला कमान्ड पोस्टको बैठकले यस्तो निर्णय गरेको हो। धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको कैठकले जिल्लामा वैशाख १० गते सम्मका लागि औषधि बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको हो।
यसअघि हरेक दिन बिहान ६ देखि ९ वजे सम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खाद्यान्न बिक्री गर्ने पसलहरु खुल्दै आएका थिए। अब कसैलाई दैनिक उपभोग्य सामान चाहिएमा उद्योग वाणिज्य संघमा सम्पर्क राख्नु पर्नेछ। सामानहरुको सहज वितरण तथा उचित व्यवस्थापन गर्ने जिम्मेवारी उद्योग वाणिज्य संघलाई दिइएको छ।
बैठकले १० गतेसम्म जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका साथै यातायातमा पनि पूर्ण प्रतिबन्ध गर्ने निर्णय गरेको छ। बैठकले यसअघि जारी भएका सवारी पासहरु खारेज गर्नुका साथै धुनिबेसी पिपलामोडदेखि बेनिघाटरोराङको मौवाखोलासम्मको सडकमा पैदलयात्रामा समेत रोक लगाएको छ। औषधि पसलहरु भने सामाजिक दूरी कायम गरी सुचारु गरिने भएको छ।