श्रमिक र कर्मचारीहरुको स्वास्थ्य प्रति युनिकमले गम्भिर चासो नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्य प्रति गम्भिर बन्न सम्बद्य निकायको ध्यानाकर्षण गराएको छ ।
कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरणका लागि देशव्यापी लकडाउन भएपछिको असहज परिस्थितीमा संघमा आबद्ध श्रमिक र कर्मचारीहरुको स्वास्थ्य प्रति युनिकमले गम्भिर चासो व्यक्त
गरेको हो ।
व्यापार क्षेत्रका श्रमिक र कर्मचारीहरुका रोजगारदाता र प्रतिष्ठानलाई युनिकमले संकटमा अभिभावकिय भूमिका निर्वाह गर्न अपिल पनि गरेको छ । लकडाउनका समयमा कार्यक्षेत्रमा नखटिने श्रमिक र कर्मचारीको नियमित तलब सुविधा नरोक्न उसले प्रतिष्ठान समक्ष आग्रह गरेको हो ।
यसैगरी यो अवधिमा काममै खटिएका कर्मचारी र श्रमिकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन पनि युनिकम नेपालले माग गरेको छ । विषम परिस्थितीमा खटिने कर्मचारीलाई अतिरिक्त परिश्रमिकको पनि प्रबन्ध गर्न माग गर्दै युनिकमले रोजगारदाता र प्रतिष्ठानहरुलाई पनि यथेष्ट सहयोग गर्न वित्तिय संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।
युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलद्धारा बिहिबार जारी विज्ञप्तीमा यो जटिल परिवेशमा आवश्यक समन्वयका लागि नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श
लगायतका संघ संस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिएको छ । यसैगरी सहकारी संस्थाहरुमा कार्यरत कतिपय कर्मचारी र बजार प्रतिनिधिहरुलाई सुरक्षा सामग्री
उपलब्ध नभएको गुनासो प्रति पनि युनिकम नेपालले चासो व्यक्त गरेको छ । उसले संगठित असंगठित सबै क्षेत्रका मजदुर कर्मचारीको न्यूनतम सुविधा र स्वास्थ्य प्रति राज्य संयन्त्र जिम्मेवार बन्नुपर्ने बताएको छ ।
राजधानी काठमाडौ सहित ठूला शहरबाट मजदुरहरु कष्टकर रुपमा गाउ फर्किरहेको परिस्थिती प्रति तत्काल राज्यले सम्बोधन गर्नुपर्ने माग पनि विज्ञप्तीमा गरिएको छ ।