धुलाबारी । झापाको मेचीनगर नगरपालिका स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबारे स्वाब संकलन गर्ने क्याविनेट जडान गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि पीपीई क्याविनेट धुलाबारीमा जडान गरिएको हो ।
क्याविनेट मोरङको उर्लाबारी स्थित त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा मेचीनगर–१० स्थित स्वास्थ्य केन्द्रमा रहने गरि निःशुल्क जडान गरिएको राष्ट्रिय आविष्कार केन्द्रका पूर्वाञ्चल प्रतिनिधि युवराज अधिकारीले जानकारी दिए ।
उनले आविष्कार केन्द्रले कोरोना भाइरसलाई लक्षित गरि उक्त स्वास्थ्य कक्ष ६५ हजारको लागतमा निर्माण गरि स्वास्थ्य केन्द्रहरुलाई निःशुल्क प्रदान गरिदै आएको बताए ।
स्वास्थ्यकर्मीहरुसँग आवश्यकीय पीपीई समेत नहुँदा ज्यान जोखिममा राखेर स्वास्थ्य जाँच गर्नु परिरहेको बेला आविष्कार केन्द्रले उपलब्ध गराइदिएको पीपीई क्याविनेटकले डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज भएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले आविस्कार केन्द्र प्रति धन्यवाद ब्यक्त गरे ।
कोरोना आंशका गरिएका तथा अन्य रोगका विरामीलाई समेत सेवा दिन सजिलो भएको उनले बताए । यो मेशिनबाट कोरोना महामारीपछि पनि क्षयरोग लगायातका विभिन्न प्रकारका विरामीका लागि स्वास्थ्य जाँच्न प्रयोग गरिने वडाध्यक्ष एवम् प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष सुदय पनेरुले जानकारी दिए ।
क्यावेनट भित्र र बाहिर माइक र साउण्ड सिस्टम जडान गरिएको छ । जस्ले गर्दा डाक्टर र विरामी दुवै जनाले सुन्न सक्छन् ।
कोरोना संभावित विरामीलाई चिकित्सकले वुथ बाहिरैबाट ग्लोब र माइकको सहायाताबाट चेकजाँच गर्न, सल्लाह सुझाव र औषधि लेखिदिन सक्नेछन ।