Aamsanchar

‘सरकारलाई सहयोग गर्छौ, मस्जिदको अनुगमन होस्’

Author Image
मङ्गलवार, वैशाख ९, २०७७


बिर्तामोड । झापाका मुस्लिम समुदायका अगुवाहरुले कोरोना भाइरस नियन्त्रणका लागि आफ्नोतर्फबाट सरकारलाई पूर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

केही मस्जिदमा बसेका जमातीमा कोरोना संक्रमण देखिएको आरोपमा सिंगो मुस्लिम समुदायलाई विभिन्न माध्यमबाट लाञ्छित गरिएको घटनाप्रति उनीहरुले गुनासो समेत व्यक्त गरेका छन् । संवाद समूह झापाले गरेको ‘भिडियो कन्फ्रेन्स’ मार्फत उनीहरुले चार बुँदे प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

जसमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि तिनै तहका सरकार सुरक्षा प्रशासन, स्वास्थ्य प्रतिष्ठानलाई सहयोग र समन्वय गर्ने उनीहरुले बताएका छन् । संकटको यस घडीमा सबै नेपालीबीचको आपसी सद्भाव, मेलमिलाप, सहिष्णुता र एकताका लागि आफूहरु प्रतिबद्ध रहेको बताउँदै उनीहरुले सबै क्षेत्रबाट सद्भावपूर्ण व्यवहारको अपेक्षा पनि गरेका छन् । उनीहरुले झापा जिल्लामा रहेका ८५ वटै मस्जिदको स्थलगत अनुगमनका लागि स्थानीय सरकार, सुरक्षा प्रशासन र राजनीतिक दलहरुलाई आग्रह गर्दै त्यसको लागि समन्वय र सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता जनाइएको छ । यस्तै सञ्चारमाध्यमलाई आधिकारिक र पुष्टि भएको सूचना मात्र सम्प्रेषण गर्न तथा समाचार सम्प्रेषण गर्दा शान्ति, मेलमिलाप, सद्भाव र एकतालाई मुख्य रुपमा ध्यान दिन आग्रह समेत गरेका छन् ।

भिडियो कन्फ्रेन्समा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जर आलम, जमियत अहलेहदिस झापाका अध्यक्ष मौलाना ताहिर सिराजी, नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष अमिन अली शेख, उपाध्यक्ष एजाज अहमद अन्सारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । कोरोना भाइरसको विषयलाई लिएर मुस्लिम समुदायलाई दोष दिनु उपयुक्त नहुने उनीहरुको भनाइ थियो । मस्जिदको अनुगमन गरिदिनुपर्ने आग्रह दोहो¥याउँदै उनीहरुले भने– ‘सबै मस्जिदको अनुगमन गरेपछि हाम्रो समुदायमाथिको दोष र भ्रमबाट हामी मुक्त हुने थियौं ।’ मस्जिदहरुमा संक्रमित जमातीहरु लुकेर बसिरहेको भन्ने कतिपय क्षेत्रबाट आएका कुरालाई लक्षित गर्दै उनीहरुले अनुगमनमा जोड दिएका थिए । उनीहरुले सामाजिक सद्भाव खल्बलिन नदिन सरकार र राजनीतिक दलको ध्यानाकर्षण समेत गराएका छन् ।

त्यस्तै श्रमजीवी मजदुर मुस्लिमलाई जमाती र मस्जिदसँग नजोड्न पनि आग्रह गरेका छन् । उनीहरुले सरकारले गरेको लकडाउनलाई पूर्णपालना गर्दै त्यसलाई सहयोग गर्न सम्पूर्ण मुस्लिम समुदायमा आव्हान समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर