Aamsanchar

ट्रम्पको अभिव्यक्तिलगत्तै बोल्यो चीन

Author Image
शुक्रवार, वैशाख १९, २०७७

चीनले अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्ने आफ्नो कुनै रुचि नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई फेरि राष्ट्रपति हुनबाट चीनले रोक्ने योजना बनाइरहेको आरोप लगाएलगत्तै चीनले त्यसमा कुनै रुचि नरहेको बताएको हो । ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा चीनले राष्ट्रपतिको चुनावमा आफुलाई हराउन सबै हर्कत गर्ने योजना बनाइरहेको आरोप लगाएका थिए । उनले आफ्ना प्रतिद्वन्द्वी जो बाडेनलाई जिताएर चीनले व्यापारका लागि सहज वातावरण बनाउन लागेको आरोप समेत लगाएका थिए ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सकाअनुसार चीनले उक्त आरोपलाई खारेज गर्दै अमेरिकी राष्ट्रपति चुनावमा असर गर्ने आफ्नोे कुनै रुचि नरहेको जनाएको छ । ट्रम्पको अभिव्यक्तिले चीन र अमेरिकाबीच तनावको स्थिति सृजना गरिदिएको छ । ग्लोबल टाइम्सले ट्रम्पको अभिव्यक्तिले अमेरिकी राजनीतिज्ञहरु चीनविरुद्ध खनिने दौडमा आफुलाई अगाडि देखाउने प्रतिस्पर्धामा रहेको स्पष्ट संकेत मिलेको विश्लेषण गरेको छ । अखबारले ट्रम्पले आफ्ना डेमोक्रेटिक प्रतिद्वन्द्वी बाडेनलाई ‘चीन समर्थित’ देखाउँदै बढी मत झार्न खोजेको र उनको यो दृष्टिकोण निकै अनौठो र अप्ठयारो रहेको भन्दै टिप्पणी गरेको छ ।

अखबारका अनुसार अमेरिकी राजनेताहरु चाहे त्यो रिपब्लिकन होस् वा डेमोक्र्याट्स त्यहाँको राष्ट्रपतिय चुनावमा ‘चाईना कार्ड’ प्रयोग गर्न अग्रसर हुने गरेका छन् । त्यस्तै चीनले गरेको कोरोना भाइरस महामारीको नियन्त्रण र अन्तर्राष्ट्रिय समुदायमा बढ्दो प्रभावले अमेरिकालाई चिन्तित बनाउँदै लगेको विश्लेषण समेत टाइम्सले गरेको छ ।

उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले बिहीबार नियमित मिडिया ब्रिफिङमा भने, ‘धेरै समयदेखि अमेरिकी सरकार कोभिड–१९ को महामारी विरुद्धको अभियानलाई खल्बल्याउने कोसिस गरिरहेको छ । खराब प्रदर्शनबाट यसतर्फको ध्यान अन्यत्र मोडिदिने कोसिस गरिरहेको छ । तर अमेरिकाको यो कदमले कोरोना भाइरस महामारीसँग लड्ने चीनको कडा प्रयास यताउती हुँदैन । यसले अमेरिकी राजनेताहरुको खराब उद्देश्य र समस्या मात्र उजागर गर्दछ ।’

त्यस्तै चिनियाँ विदेश मामिला विश्वविद्यालयमा प्रध्यापन गराउँदै आएका इन्स्च्यिुट अफ इन्टरनेशनल रिलेसन्सका प्रध्यापक ली हेडोङले भनेका छन्, चीन स्पष्ट छ, अमेरिकामा डेमोक्रयाट र रिपब्लिकनले चीनका सवालमा कडा अडान लिँदै आएका छन् । त्यसैले चीनलाई ह्वाइट हाउसमा कुनचाहि राष्ट्रपति आउने भन्ने विषयले फरक पार्दैन । अहिले त्यहाँका मतदाताहरुलाई फसाउनका लागि चीनलाई कलंकित बनाउने कोशिस हुँदैछ ।’ उल्लेखनीय कुरा के हो भने अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार चीनमाथि कोरोना भाइरस महामारीको दोषारोपन गर्दै कोरोना बारेका महत्वपूर्ण जानकारी लुकाएको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर