Aamsanchar

सिलिन्डरमा ग्यास कम राखी बिक्री गर्ने पक्राउ

Author Image
बिहिवार, वैशाख २५, २०७७

काठमाडौं । महामारी जस्तो सम्वेदनशिल समयमा पनि कालोबजारी गर्नेहरुलाई एक पछी अर्को गरी पक्राउ गरि रहेको अवस्थामा  महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ ।

प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयवासीले ग्यास खरिद गरेर घर लगेपछि निकै कम तौल भएको भन्दै कालोबजारीको आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए । कालोबजारी भएको सूचना पाएपछि प्रहरीले सो डिपोमा छापा मारेको थियो । त्यसपश्चात् प्रहरीले गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा खबर गरेको थियो ।

सो विभागका प्रतिनिधिसहितको प्रहरी टोलीले सोही डिपोमा खानतलासी गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरेको थियो । बरामद भएका ७५ वटै ग्यासको सिलिन्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

बरामद ग्यासको सिलिन्डरसहित सञ्चालक श्रेष्ठलाई थप अनुसन्धान तथा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार कारवाहीका लागि आज गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा पठाइएको उनले बताए ।

प्रहरीका अनुसार सञ्चालक श्रेष्ठले कम तौलमा बिक्री वितरण गरेको बताउँदै यसअघि १०० थानभन्दा बढी कम तौलका ग्यासको सिलिन्डर बिक्री गरेको स्वीकार गरेका छन् ।

प्रहरीले घटनास्थलबाट कम तौलको ग्यास सिलिन्डरसहित ग्यास निकाल्न प्रयोग हुने फलामको पाइप, नक्कली सिलहरु बरामद गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर