मोरङ । प्रदेश १ मा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन । विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार ८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका हुन । पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले ८ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । यो सँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुगेको छ ।
झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराईरहेका छन । सबैको स्वास्थ्य अवस्था समान्य रहेको उपचार तथा निगरानीमा खटिएका चिकित्सक डा।डेनप्रसाद आचार्यले बताए । उनिहरु डिस्चार्ज भएपनि नियमित चिकित्सकको निगरानी र सावधानीमा रहनु पर्ने डाक्टर आचार्य बताउँछन् । प्रदेश १ का ३१ बाहेक पछिल्लो समय थपमा कोरोना संक्रमण देखिएको छैन ।
यसअघि बुधबार विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय जमातीले कोरोना जितेर फर्किएका थिए । ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन । उनीहरुलाई बुधबार डिस्चार्ज गरिएको थियो ।
विराटनगरको कोरोना अस्पतालमा ३१ जना उपचाररत छन । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन । उदयपुरमा ५ बैशाखमा धर्म प्रचारका लागि आएका १२ जना जमातीलाई कोरोना संक्रमण देखिएको थियो । १८ दिनको उपचारपछि ६ जना बुधबार र ८ जना शुक्रबार कोरोना मुक्त भएको विराटनगरको कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।