Aamsanchar

तीन औषधीको संमिश्रणले कोभिड–१९ का बिरामीलाई चार दिनमा नै निको बनाउने शोधकर्ताहरुको दाबी

Author Image
आइतवार, वैशाख २८, २०७७

तीनवटा एन्टीभाइरल औषधी र एउटा इम्युन सिस्टम बुस्टर (प्रतिरोधात्मक शक्ति बढाउने) को संमिश्रणले कोरोनाभाइरसका संक्रमितहरुलाई चाँडो निको हुन सहयोग गर्ने हङकङका डाक्टरहरुले बताएका छन् । उनीहरुले यसलाई थप परीक्षण गर्न आवश्यक रहेको बताए पनि यो कोभिड–१९ का बिरामीका लागि उपचारको नयाँ सम्भावना हुनसक्ने उनीहरुको भनाइ छ ।

हाल अमेरिकाले प्रयोगात्मक एन्टीभाइरल औषधी रेम्डेसिभिरलाई मात्र उपचारका लागि मान्यता दिएको छ । यसले पनि बिरामीको निको हुने समयलाई घटाउँछ तर यसको उपलब्धता निकै कम रहेको छ ।

हङकङ विश्वविद्यालयका डा. क्वोक युङ युएनका अनुसार उनी र उनको सहकर्मीहरुले एचआईभीको औषधी रिटोनाभिर र लोपानिभिरसँगै सामान्य एन्टीभाइरल औषधी रिबाभिरिन र मल्टिपल स्क्लेरोसिसको औषधी बेटा इन्टरफेरोनको संमिश्रणलाई प्रयोग गरेका थिए ।

प्रयोगमा भाग लिएका बिरामीहरुमा भाइरसको मध्यम लक्षणहरु देखिएका थिए भने उनीहरुलाई संक्रमण पुष्टि भएको सात दिनभित्र उपचार सुरु गरिएको थियोसंक्रमणको सुरुवाती चरणमा नै उपचार गर्दा चाँडो निको हुनसक्ने डाक्टरहरु बताउँछन् ।

युएनको टोलीले केही बिरामीहरुलाई ‘कालेट्रा’ ब्रान्डको एचआईभी रोगको औषधी मात्र दिएका थिए । अरुलाई रिटोनाभिर–लोपानिभिर र एन्टीभाइरल औषधी रिबाभिरिन र मल्टिपल स्क्लेरोसिसको औषधी बेटा इन्टरफेरोनको इन्जेक्सनको संमिश्रण दिइएको थियो ।

औषधीको संमिश्रण दिइएका बिरामीहरु औसतमा सात दिनपछि निको भएका थिए । एचआईभीको मात्र औषधी दिइएका बिरामीहरु औसतमा १२ दिनपछि निको भएको लान्सेट मेडिकल जर्नलमा प्रकाशित छ ।

साइड इफेक्ट कम

औषधीको संमिश्रण दिइएका बिरामीहरुले चार दिनमा नै स्वस्थ अनुभव गर्न थालेको अध्ययनमा भनिएको छ । ‘एचआईभीको औषधीमात्र दिइएका भन्दा तीन औषधीको संमिश्रण दिइएका न्यून र मध्यम लक्षण भएका बिरामीहरुको लक्षणहरु चाँडै हटेको थियो भने उनीहरुको अस्पताल बसाईको अवधि पनि कम भएको थियो,’ शोधकर्ताहरुले लेखेका छन् ।

यसको साइड इफेक्ट पनि कम रहेको उनीहरुको दाबी छ ।

क्यालिफोर्निया विश्वविद्यालयमा कोरोनाभाइरसको उपचारमा संलग्न रहेका डा। पिटर चिन होङ यो अध्ययनले महामारीमा नयाँ आशा दिएको टिप्पणी गर्छन् । ‘यो अध्ययन निकै आशालाग्दो छ किनभने यसले रेम्डेसिभिर मात्र होइन उपचारका लागि अन्य विकल्प पनि छन् भनेर देखाउँछ,’ उनी भन्छन् ।

‘यी औषधीहरुको ट्रयाक रेकर्ड पनि सुरक्षित रहेको छ,’ उनी भन्छन्, ‘यो सहजरुपमा उपलब्ध पनि छ ।’

अमेरिका डाक्टर तथा फार्मासिस्टहरु अझै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले अनुमति दिएको रेम्डेसिभिर कहिले उपलब्ध हुन्छ भन्नेमा अन्यौलमा रहेका छन् ।

चिन होङले लान्सेन्टको अध्ययनले कोभिड–१९ को उपचारका लागि अन्य सम्भावनाहरु पनि रहेको देखाएको जिकिर गरे । ‘अचुक हतियार नफेला परेसम्म हामीले यसलाई प्रयोग गर्न सक्छौँ,’ उनले भने । यतिबेला डाक्टरहरुले विभिन्न औषधीका संमिश्रणलाई कोभिड–१९ को उपचारमा प्रयोग गरिरहेका छन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर