कनकाई । कोरोना महामारीका कारण लकडाउन लम्विएसँगै ‘एकका लागि एक’ अभियानले ३० घरपरिवारलाई राहत वितरण गरेकोे छ ।
सहाराको अगुवाइमा १६ वटा संघ÷संस्था आवद्ध रहेको अभियानले झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा विपन्न ३० घरपरिवारलाई सोमवार राहत वितरण गरेको हो । अभियानले स्थानीयतहसँगको सहकार्यमा राहत वितरण गरेको हो ।
राहत वापत प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर खानेतेल र एउटा नुहाउने र एउटा कपडा धुने सावनसहित २ वटा सावुन राहत वापत वितरण गरिएको थियो ।
कनकाई नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजबंशीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए । कार्यक्रममा बोल्दै उनले एकका लागि एक अभियानले धेरै राम्रो काम गरेको बताए । उनले लोभी प्रवृत्ति त्याग्नु पर्ने बताउँदै भोकै मर्न नदिने बताए । ‘लकडाउन खोल्ने अनुमति छैन’ प्रमुख पोखरेलले भने ‘अतिआवश्यक कार्यलाई सामाजिक दुरी कायम गरी पञ्जा र माक्स प्रयोग गरि केही खुकुलो पारेका हौं ।’ उनले भकारीमा धान भएकाले पनि राहत माग्ने गरेको बताए ।
कार्यक्रमको सञ्चालन सहारा नेपाल साकोस लक्ष्मीपुरका प्रमुख उमेश भारतीले गरेका थिए । कार्यक्रममा राहत लिनेहरुका तर्फबाट कल्पना चौहानले सहारा साकोसको अगुवाई सुरु भउको अभियान बाट आफू धेरै खुशी बनेको बताएकी थिइन् ।