काठमाडौं । मलेसियामा ५५ नेपाली कामदारमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
मलेसियाका विभिन्न भागमा वैदेशिक रोजगारीका क्रममा रहेका ५५ नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको गैरआवासी नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । जसमध्ये हालसम्म ३ जना निको भएरका छन् ।
उनका अनुसार मलेसियन सरकारले कोरोना संक्रमित विदेशी नागरिकलाई आफ्नै देशको नागरिक सरह उपचार गर्दै आएको छ । कोरोनाको संत्रास फैलिएपछि एनआरएनए मलेसियाले दूतावाससँग सहकार्य गर्दै समस्यामा परेका नेपालीलाई राहत वितरण गर्दै आएको भट्टराईले जानकारी दिए ।
उनले खाद्यान्न अभाव झेलिरहेका तथा बिरामी भएका असक्त, अपाङ्ग भएका र कम्पनीले हेरचाह नगरेका नेपाली श्रमिकलाई समस्या परे एनआरएनए मलेसियालाई सम्पर्क गर्न अनुरोध गरे ।
यस्तै लकडाउनका कारण मलेसियामा अलपत्र परेका, भिसा सकिएर स्वदेश फर्किन नपाएका कामदारलाई चाँडो भन्दा चाँडो स्वदेश फर्काउन एनआरएनए मलेसियाको तर्फबाट पहल भइरहेको पनि उनले बताए ।