फौजीले नेपाली किसानको बाली नस्ट गरिरहेको वेला फौजी भन्दा उग्ररुपमा बालीमा क्षतीपुर्याउने अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् ।
सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो।
नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने बताइएको छ।
भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई यसले ठूलो नोक्सानी पार्न सक्ने विज्ञहरूको भनाइ छ। यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले चेतावनी दिएको छ। ।
के हो सलह ?
सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ।
दसौं लाख सलहको झुण्ड व्यवहार
वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।
प्रकोपको इतिहास
प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना पुस्तकहरुमा यस किरासम्बन्धि कुराहरु उल्लेख गरेका छन् । मुख्यतस् कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन् । पहिलेपहिले माटो तथा हावाको माध्यमबाट बिषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो ।
सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी (Migratory) शत्रुजीव हो । अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो बिपत्ती फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई Australian Plague Locust भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई American Locust भनिन्छ, तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउदैन् । सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलह ( Schistocera gregaria ) लाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर बिनाश फैलाइरहेको छ ।
अहिले पाकिस्तान हुदै भारत सम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला (Arabian peninsula) मा दुई ठूला आँधी साइक्लोनले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए। नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनिहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाइ पार गरि अफ्रिका पुगेको मानिन्छ। २०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।
२०२० को फेब्रुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो।
२०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको थियो।
के हो फौजी किरा ?
अमेरिकन फौजी किरा ९फल आर्मीवर्म० मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो ।
यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको विज्ञहरु बताउँछन् । बैशाख २६ गते नवलपरासीको गैंडाकोट क्षेत्रमा पहिलोपटक फौजी किरा फेला परेको थियो ।
यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।
यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य घाँसमा पनि असर पुर्याउने गरेको छ ।
बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।
खाना र बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ । अमेरिका पछि अफ्रिकी महादेशको नाईजेरियामा सन २०१६ को जनवरीमा देखा परेको थियो । अहिले ४० भन्दा बढी अफ्रिकी मुलुकमा फैलिसकेको बताइन्छ । सन् २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशका ४ करोड जनसंख्यालाई असर पारेको थियो । त्यस बखत मकै उत्पादनमा फौजी किराले ५३ प्रतिशत कमी ल्याएको थियो ।
सन २०१८ मा भारत, श्रीलंका, म्यानमार, भियतनाम, चीन, ताइवान, थाइल्यान्ड र बंगलादेशमा देखा परेको थियो ।
नेपालको तापक्रम र पानी पर्ने पद्धति फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीट वैज्ञानिकहरूको भनाइ छ ।