बिर्तामोड । झापामा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।
यो सगै कचनकवलमा संक्रमितको संख्या १ सय पुगेको छ भने जिल्लामा १ सय ७ जना पुगेको छ ।
आज दिउँसो थप २७ जना थपिएका हुन् । झापामा संक्रमितको संख्या १०७ पुगेको छ । कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ । कचनकवलमा बुधबार मात्रै जानकी आमावि क्वारेन्टिनका १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
कचनकवलका छवटा क्वारेन्टिनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सयभन्दा बढी नेपाली आइसकेका छन् ।
झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुईदुईजना र झापा गाउँपालिका, दमक र भद्रपुर नगरपालिकामा एकएकजना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निका भएर घर फर्किसकेका छन् ।