

भद्रपुर । झापा कारागारका १७ जना कैदीबन्दीले माफी पाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले उनीहरुको बाँकी सजाय माफी मिनाहा गरेको हो ।

विभागीय नीति अनुरुप झापा कारागारले कैद माफी मिनाहाका लागि २३ जनाको नाम सिफारिस गरेको थियो । त्यसमा १५ पुरुष र दुई जना महिलाको नाम स्वीकृत भएको कारागार प्रमुख राजेन्द्र निरौलाले बताए ।

झापा कारगारमा एक हजार ५० जना पुरुष र पाँचजना आश्रित गरी ८२ जना महिला छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको बाँकी कैद सजाय माफी मिनाहा दिएकी हुन् । जस अनुसार देशभरबाट २३३ कैदीले बाँकी कैद सजाय माफी मिनाहा पाएका छन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम उनीहरुलाई माफी मिनाहा दिइएको हो ।
Views: 121

