Aamsanchar

वन र उपभोक्ता

Author Image
आइतवार, जेठ १८, २०७७

वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले
तिरिरि मुरली बज्यो वनैमा
वनमा फूल्यो फूल
यि कालजयी नेपाली लोकभाकाहरु नेपाली जिवनशैली अनि नेपालीपनाका पर्यायहरु हुन् । नेपाली जिवन अनि रहनसहन वन बिना अपुरो छ, त्यसैले त होला यी वनहरु बिना नेपाली मनहरुलाई छुन नसकिने । वस्तुभाउ चराउन देखि घाँसदाउरा अनि स्याउला ल्याउन, पिरती लाउन देखि जडिवुटीसम्मकालागी नेपाली रहनसहनको आधार यिनै वन अनि डाँडाहरु हुन् । आउनुहोस यहि वन अनि वनको संरक्षण लगायतका कुराहरुलाई सुत्र वनाँउन चित्त परेको छ आज जेठ १८ अर्थात वन उपभोक्ता दिवसका दिन् ।

अधिकांश नेपाली गाँउहरुमा एउटा ठूलो रुख नि त्यसको छहारीमा नेपाली पुस्ताहरुले आफ्ना जिवनरेखा कोरेका छन् । वच्चामा हुँदा लुकामारी खेल्ने, रुख चढ्ने अनि लड्ने कथाहरु हामीमध्य धेरैको छ । ति ठूला रुखहरु भने उहिले त्यस ठाँउमा वन रहेको वेला देखिनै भएको कुराहरु सुनिन्छ । धेरैजसो नेपाली गाँउहरु पहिले वन रहेका अनि बस्ती वढाउन फडानी गरिएका प्रमाण यस्ता रुखहरु अनि ईतिहाँसले देखाँउदछ । मान्छे, चरा अनि जनावरहरुको साझा थलो यस्ता रुखहरुको कुञ्ज अर्थात वन लाई संरक्षण गर्नु हामीसबैको जिम्मेवारी हो है ।

तपाँईहामीमध्य कतिजनाले कतिपटक वृक्षारोपण गरेका छौ ?  कतिवटा रुखलाई हुर्काएका छौ ? वोटविरुवामा पानी हालेर हुर्काउनसक्नु पनि मानविय दायित्व हो, आजको दिनले यस्ता कुराहरु पनि उठाँउदछ । हामीसबै वनका उपभोक्ताहरु हौ, यो या त्यो ढगंमा वनका हामीसबै आश्रित छौ । वनश्रोत बिना मानवीय आवश्यकताहरु पुरा हुन सक्दैनन् । नेपालमा वनमा रहेको निर्भरताका कारण चाप पनि निकै छ । दाउरा जस्ता काष्ठ पैदावारहरु इन्धनका लागि प्रयोग गर्ने उपभोक्ताहरु उत्तिकै छन् । त्यसैगरी जडिबुटी लगायतका अन्य वनजन्य वस्तुहरु गैरकाष्ठ वन पैदावारका रुपमा प्रयोग गरिन्छन् । सुस्तरि मानव विकासक्रम, वढ्दो आवश्यक्ता अनि शहरीकरणले गर्दा वनहरुको अतिक्रमण अनि अराजक प्रयोग वढदै गएको छ ।

कानुनतः वन ऐन २०४९ अनुसार पूर्ण वा आंशिक रूपमा रूखहरूले ढाकिएको क्षेत्र ‘वन’ हो । यस परिभाषा अनुसार वनले घेरिएको वा वन छेउछाउका पर्ती वा ऐलानी जग्गा, वनभित्रको बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेत वन हो । वन पैदावार भन्नाले रूख, वनस्पति, पशुपन्छिका अलावा चट्टान, माटो, ढुङ्गा, गिट्टी, बालुवा समेतलाई जनाउँदछ । विश्व मानचित्रमा केवल ४ दशमलव ३० प्रतिशतमात्र वन भुभाग रहेकोमा नेपालको भने कूल क्षेत्रफलको लगभग ४० प्रतिशत वन ले ढाकेको छ, वनको अधिकांश क्षेत्रफल भएकाले पनि नेपाललाई हरियो वन नेपालको धन उखानले पुस्तौ देखि सम्वोधन गर्दै आईएको छ ।

वन श्रोतको उपभोग तथा व्यवस्थापनका दृष्टिकोणले नेपालको वनलाई सात प्रकारले वर्गिकरण गरिएको पाइन्छ । जसमा राष्ट्रिय वन, धार्मिक वन, निजी वन, सामुदायिक वन, कवुलियति वन र आरक्ष तथा निकुञ्जरसरकारद्वारा व्यवस्थापन गरिएका वन पर्दछन् । यि सात प्रकारका वनमा एकसय ८९ प्रकारका पारिस्थिक प्रणाली कायम रहेकाछन् । नेपालमा भौगोलिकताका दृष्टिकोणले वनलाई ६ भागमा वर्गिकरण गरिएको छ । साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल लगायतका वनस्पति पाइने वनलाई उष्ण वन भनिन्छ । त्यसैगरी खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि वनस्पति पाइने वनलाई उपोष्ण वन भनिन्छ । सानो फलाँट, ठूलो फलाँट, बाँझ, गोब्रे सल्ला जस्ता वनस्पतिको वनलाई समशितोष वन भनिन्छ । बाँझ, गुराँस, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि पाइने वनलाई शितोष्ण वन भनिन्छ । त्यसैगरी सब अल्पाइन वनमा बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि वनस्पति र अल्पाइन वनमा झाडीदार धुपी र गुराँसका प्रजातिहरु पाइन्छन् ।

वन विना मानव अस्तित्वको आधार हुँदैन्, पर्यायवरणका पहरेदार वनको संरक्षण भनेकै वन उपभोक्ताको चेतनास्तरको जागरण हो । वनको संरक्षण गर्न सके वातावरणीय अनि प्रतिकुल मौसमको समस्या लगायत प्राकृतीक विपत्तिहरुवाट पनि रक्षा हुन्छ ।
वनप्रती माया रहोस्, डढेलो नलागोस् अनि वृक्षारोपण हामीसबैको जिम्मेवारी हो । जरा, रुख, हाँगा अनि वुट्यानहरुको संरक्षण होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर