Aamsanchar

निर्जला एकादशी व्रत किन बसिन्छ

Author Image
मङ्गलवार, जेठ २०, २०७७

गीतामा भगवान श्री कृष्ण स्वयम भन्नुहुन्छ कि
पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति। तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।।
अर्थात निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । यिनै भगवान श्री कृष्णको नाम लिएर यसवर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाह्यौं, कृष्णाअर्पणम ।

यस एकादशी महत्वपूर्ण आयामहरु बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरुलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरु अर्थात मन्जरीहरु छर्दछन् भनें कतिले चाँही जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरुको अंकुरण भएपछि ति बिरुवाहरुलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाँउदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ ।

वर्षभरिका एकादशीहरुमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन्, नितान्त रुपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरुमा सकारात्मक उर्जा र शक्ति संचार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकदशीको महाभारत र पाण्डवसंग जोडिएको एउटा किस्सा सविस्तार सुनौं ।

५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा संझौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तीत थिएर र गएर गुरु व्याससंग यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकैपटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।

जेष्ठ शुक्ल एकादशीका रुपमा यस निर्जला एकादशीको व्रत पश्चात द्धादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दानपुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान बिष्णुको किर्तन अनि भजनको यस एकादशीमा विशेष महत्व रहन्छ, एकादशी महात्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरुको अध्ययन अनि व्याख्याको विशेष महत्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दनम गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखि पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकदशीकै दिनमा आफ्ना बिचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ, बिष्णुको शालिग्राम स्वरुपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।

एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि बिष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसंग छाडेर जान्छौं, भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई कावुमा राखेर यस एकादशी व्रत लिन्छन तर भोलीपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनामा पाइन्छन् । त्यसपछि भीमलाई गंगाको पवित्र पानी र तुलसीपात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको बिजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षके निर्जला एकादशीमा सबको कल्याण होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर