अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका पनि दुई व्यक्तिमा आज कोरोना पुष्टि भएको छ ।
नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । दुईजनामा कोरोना संक्रमण पाईएको पहिलो हो ।
पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो ।क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टाइनमा शनिबार ६ जना थपिएर ५८ जना छन् । कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए । दिल्लीबाट बाघडोग्रा एयरपोर्टहुँदै पानीटंकीबाट मेची पुलसम्म आएका उनीहरुलाई अर्जुनधाराको एम्बुलेन्सले क्वारेन्टाइनमा ल्याएको थियो । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेको छ । स्थायी घर अर्जुनधारा ९ रहेका उनीहरुको रिपोर्ट पोजेटिभ आए पनि सँगै आएकी २१ वर्षीया एक महिलाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य स्रोतको भनाइ छ । नगरको स्वास्थ्य शाखाले यसअघि ५४ जनाको पीसीआर टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।