आजभन्दा ६ वर्षअघि शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न नाम निस्किँदा खुसीको सीमा थिएन। त्यो खुसी ममा मात्र सीमित थिएन, मेरो घर(परिवार, इष्टमित्र, छरछिमेक, विद्यालय, कलेजका शिक्षकहरू सबै खुसी र गौरवान्वित हुनुभएको थियो।
जब म अध्ययनका लागि मेडिकल कलेज छिरेँ, त्यसपछि त फलामको चिउरा चपाए बराबर हुन थाल्यो। दिनहुँ सात बजेदेखि सुरु हुने क्लासहरु, प्राक्टिकल, पाक्षिक रुपमा हुने परीक्षा, सेमिना प्रिजेन्टेसन अनि अरु परीक्षाहरु। कति रात सुतिएन, कति छाक खाइएन होला। कति पसिना बगाइयो होला। परीक्षाले आत्तिएर रुँदै बुबालाई फोन गरेर पढाइ नै छोडिदिन्छु समेत भने होला।
यो बीचमा कति चाडपर्व, पारिवारिक जमघटहरु छुटे। आमाबुबासँग बसेर जन्मदिन मनाउने रहर त्यसै खेर गए। नयाँ वर्षमा घरमा बस्न पाइएन। तिज, दसैं, तिहारमा आफन्तबाट टाढा हुनुपर्यो।
अनगिन्ती दुस्ख, मिहिनेत र परिश्रम गरेर एमबिबिएस पास गरियो। ६ महिनाअघि एमबिबिएस सकेपक्षि दुई वर्ष करार अन्तर्गत काम गर्न एउटा सरकारी आस्पतालमा आबद्ध भएँ। त्यसपछि त झन् हाँडीगाँउको जात्रा देख्न थालियो। तलब सुविधाको त कुरै नगरौं, छैन बराबर नै हो। घरबाट टाढा बस्ने म जस्तालाई त खान, कोठा भाडा तिर्न पनि कहिलेकहीँ हम्मेहम्मे पर्छ। तर भन्न चाहिँ डाक्टर, सम्मानित पेसा भनिन्छ। यो सुन्दा जोक जस्तै लाग्छ।
म महिला डाक्टर। ओपिडीमा बस्दा कहिलेकाहीँ पढेलेखेका जस्ता देखिने व्यक्तिहरुले नै ‘सिस्टर, डाक्टर आउनुभएन ?’ भनेर सोध्छन्। कहिलेकाहीँद्द कम्प्लेन बक्समा डाक्टरले बिरामी नहेरेर सिस्टरले मात्र बिरामी हेर्छन् भनेर कम्प्लेन गर्न भ्याउँछन। मैले औषधि लेखिदिएपछि ओपिडी रुममा बाहिर कतै कार्यालय सहयोगी दाइहरुसँग डाक्टर साहेब, एकचोटी हेर्दिनुपर्यो पनि भन्छन्।
यो सन्दर्भमा पहिलेपहिले मलाई उनीहरुलाई सच्याउन मन लाग्थ्यो तर पछि बल्ल थाहा भयो, मैले कसैलाई म सिस्टर होइन, डाक्टर हो। हजुरले डाक्टरबाटै सुविधा पाइरहनुभएके छु भन्दा म अलिक अहंकारी सुनिँदोरहेछु, त्यो पनि मेरा केही बौद्धिक मित्रहरुको भनाइ अनुसार । कतिपय अवस्थामा आफ्नै सहयोगीबाट यस्तो कुरा सुनेपछि मैले यो कुरा स्वीकार गरेँ, मैले सँगै पढेका, सँगै काम गर्ने, बराबर क्लिनिकल स्किल भएका पुरुष सहकर्मी बराबर सम्मान कहिल्यै पाउने छैन। त्यसपछि मैले कसैलाई सच्याउन खोज्ने हिम्मत गरेकी छैन।
हाम्रो परिप्रेक्ष्यमा यस्ता कुरा सामान्य भइसके। जहाँ ड्युटीमा रहेको डाक्टरको जीउधनको सुरक्षा छैन भने पेसागत सम्मानको आशा के गर्ने ? यहाँ त दिनहुँजसो डाक्टर, स्वास्थ्यकर्मी पिटिन्छन्, दुर्व्यवहारमा पर्छन्।
बिरामी बचाउन ट्र्याकेस्टोमी (बचाउनका लागि श्वासप्रश्वास सुचारु गर्ने आपतकालीन प्रक्रिया) गर्दा घाँटी सेरेर मारियो भन्ने भिडियो क्लिप युट्युवमा प्रसारण गरिन्छ। त्यस्ता कुराहरु हामी सेयर गरेर भाइरल बनाउँछौं। अनि त्यहाँ डाक्टरलाई तथानाम गाली गर्छौं।
हाम्रो देशमा अरु अपराधी अदालतले दोषी नभन्दासम्म निर्दोष नै हुन्छन्। तर स्वस्थ्यकर्मीको हकमा भने कानुनले दोषी भनिरहनु पर्दैन, आफैं नियम, आफैं कानुन र आफैं अदालत बनिदिन्छौं। सामाजिक सञ्जाल, चिया पसल तथा रेस्टुरेन्टबाटै स्वास्थ्यकर्मीलाई अपराधी करार गरिदिन्छौं। उस्तै परे सजाय नै तोकिदिन्छौं।
हामीले बुझेका छैनौं या बुझेर पनि बुझ पचाएका छौं प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ मान्छेको ज्यान जान्छ। हामीले स्वास्थ्यकर्मीबाट अलौकिक चमत्कारको अपेक्षा राखेका छौं। बिरामी चाहे अन्तिम चरणमा होस, निको हुनैपर्छ। होइन भने डाक्टरले कुटाइ खान तयार हुनुपर्छ।
धेरै टाढा जानै पर्दैन। कोभिड-१९ जुन रोगको अहिलेसम्म उपचार पत्ता लागेको छैन, त्यसबाट मान्छेको मृत्यु भयो भने पनि डाक्टरलाई दोष दिन्छौं। संसारलाई कोभिडले स्वास्थ्य क्षेत्रको महत्त्व सिकायो तर हामीलाई सिकाउने भएन।
मन कटक्क खान्छ, आमाबुबाका आँखाले आफ्नी छोरी डाक्टर हुँदा गौरबभन्दा दुर्व्यवहार, आक्रमण अनि अस्पताल तोडफोडको दृश्य हेर्नुपर्दा। ड्युटी सकिएपछि धन्न आज त केही भएनु भनेर खुसी हुनुपर्ने अवस्था छ। यस्तो मनोदशाबाट गुज्रिएको एउटा डाक्टरले कसरी बिरामीको उपचार गर्न सक्छ ?
अन्त्यमा, कुरोको चुरो डाक्टरको जीउधनको सुरक्षा हुनुपर्यो भन्ने नै हो। डाक्टरबाट लापरबाही भएको जस्तो लागे आदलतको ढोका ढक्ढक्याउने हो। स्वास्थ्यकर्मीको टाउको ताक्ने, दुवै पक्षको कुरा नसुनी आफैं वकिल, न्यायाधीश बन्ने होइन। यस्तो गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने व्यवस्था गरौं।
एउटा डाक्टरको बिन्ती छ( सम्मान गर्न नसके पनि दुर्व्यवहार नगरिदिनुहोस। यस्तो दुर्व्यवहार नरोकिने हो भने डाक्टर तथा स्वास्थ्यकर्मीको निराशा बढ्दै जाने छ र विस्तारै उनीहरुले कि देश छोड्ने छन् कि काम छोड्न बाध्य हुने छन्।
यो लेख स्वास्थ्य खबर पत्रिकाबाट साभार गरिएको हो ।
मुख्य श्रोतको लिंक
डाक्टरमाथि दुर्व्यवहार कहिलेसम्म?