Aamsanchar

झापामा पिसिआर ल्याव ल्याउने लगभग पक्का

Author Image
आइतवार, जेठ ३२, २०७७

चारपाने । नागरिकहरुबाट झापामा पिसिआर ल्याब स्थापना गर्ने उदेश्यले पूर्णता पाउने देखिएको छ । एकका लागि एक अभियानमा सयौं नागरिकहरु र दर्जनौ संघसंस्थाहरु अभियानमा जोडिएर पिसिआर ल्याव खरिदका लागि रमक संकलन गर्ने काम भईरहेको अबस्थामा जिल्लाका सहकारी र संघसंस्थाबाट आज आइतबार ७ लाख १२ हजार रुपैयाँ सहयोग घोषणा भएको छ ।
एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको ल्याब स्थापना गर्न सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आज एकै दिन झापाका चार सहकारी संस्था, झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकका प्रतिनिधीहरुले रकम घोषणा गरेका हुन् ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल ।

आइतबार चारपानेमा भएको रकम घोषणा कार्यक्रममा सहारा नेपाल साकोसबाट १ लाख ५ हजार, पूर्व नेपाल साकोसबाट १ लाख २ हजार, पब्लिक साकोसबाट १ लाख १ हजार र हाम्रो नेपाल साकोसबाट १ लाख १ हजार रुपैयाँ सहयोग घोषणा भएको छ ।
त्यस्तै, झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकबाट समान १ लाख १ हजार रुपैयाँ प्रदान गर्ने घोषणा भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार संघको समन्वयमा अभियानलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागिएको हो ।

एक साताभित्र रकम संकलन गरिसक्ने गरी संघले अन्य सहकारीसँग पनि समन्वय गरिरहेको छ । सामाजिक अभियान भएकाले झापाका सहकारी तथा सहकारीसँग सम्बद्ध देशभरका केन्द्रीय संघहरुलाई स्वेच्छिक रुपमा सहयोग गर्न जिल्ला संघले अपिल गरेको छ ।

एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेत ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष तथा बैंकका पूर्वअध्यक्ष रमेश पोखरेल, नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारी, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिनाकुमारी ढकाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सबैलाई सहयोगको अपिल गरेका थिए ।

घोषणा कार्यक्रममा एकका लागि एक अभियानले सुरु गरेको पिसिआर ल्याब सञ्चालन गर्ने अभियानमा सहकारीको सबैभन्दा माथिल्लो निकाय पनि जोडिएको ढकालले बताए । ‘यो एकदमै खुसीको कुरा हो’, ढकालले भने, ‘यसले समाजमा राम्रो सन्देश दिएको छ ।’ कार्यक्रमको सहजीकरण संघका सचिव युवराज ढकाल र सहसचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

कार्यक्रममा अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको, सहारीकारी कर्मीहरुको ऐकिवद्धता संगै झापामा छोटो समयमै ल्याव ल्याउने लगभग पक्का भएको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । संसारभर रहेका झापाली र संघसंस्था तथा अन्य क्षेत्रका दाताहरुसँग अभियानले सहयोगको अपिल गरेको छ ।

ल्याब सञ्चालन गर्न अन्तर्राष्ट्रिय झापाली समाजले पनि ३० लाख रुपैयाँको हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । ४० देशमा सञ्जाल रहेको समाजका अभियान्ताहरुले अनलाइन कोष खडा गरेर रकम संकलन गरिरहेको समाजका संरक्षक दिनेश पोखरेलले जानकारी दिए ।
पिसिआर ल्याब स्थापना गर्न करिव एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, पौष २६, २०८१
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१