मोरङ । प्रदेश १ मा केही दिन एता कोरोना संक्रमितको संख्यामा कमी आएको छ । कोरोना संग जुधेर घर फर्कनेको संख्या बढदै छ । मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा निर्मित कोभिड १९ उपचार केन्द्रको आइसोलेशन वार्डमा राखिएका ४० जना कोरोनालाई जितेर बिहिबार घर फर्किएका छन ।
आठ जिल्लाका ४० जनाले कोरोना जित्न सफल भएका हुन । । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसदहरु लोकप्रसाद संग्रौला र राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिका मेयर शिव ढकाल र उपमेयर धना तामाङ लगायतले फुल दिएर विदाई गरेका छन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना रहेका थए । १५ देखि ४७ वर्ष उमेरका ४० जना पुरुष घर फर्किएका छन् । प्रदेश १ मा अब कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको पीसीआर परीक्षणगर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट विदाई गरिएको मन्त्री घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको दाबी गरे । उनले प्रदेशमा कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएकोले चाँडै सुखद खबर सुन्न पाइनेमा आफु आशावादी रहेको बताए । क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उनले दाबी गरे ।
बिहीबार डिस्चार्ज हुनेहरुमा जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा। शैलेशमणी पोखरेलले जानकारी दिए । प्रदेश १ मा संक्रमितको संख्या ४ सय १६ रहेकोमा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा २९ जना, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा ८५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन ।