कोभिड–१९ महाव्याधिका कारण विश्वभरका विद्यार्थीको पढाइ अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा १ सय खर्ब डलर (१० ट्रिलियन)को अपूरणीय क्षति हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले महाव्याधिबाट बालबालिकाको पढाइ अवरुद्ध हुँदा अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ रु भन्नेबारे अध्ययन गरेको थियो । त्यस अध्ययनमा महाव्याधिका कारण विद्यालय बन्द हुँदा बालबालिकामा विद्यालय छोड्ने प्रवृत्ति बढ्ने देखिएको पाइएको छ । यसबाट कालान्तरमा विश्व अर्थतन्त्रमा १ सय खर्ब डलर आम्दानी गुम्ने देखिएको हो ।
महाव्याधि उत्कर्षमा पुगेको अप्रिलमा विश्वभर विद्यालयबाहिर हुने विद्यार्थीको संख्या १ अर्ब ६० करोड पुगेको थियो । जसका कारण अहिले विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीले आफ्नो जीवनकालमा ठूलो मूल्य चुकाउनुपर्ने भएको छ । विश्व बैंकको प्रतिवेदन अनुसार प्रत्येक विद्यार्थीले औसतमा आफ्नो वार्षिक आम्दानीमा ८ सय ७२ डलरको खति व्यहोर्नुपर्नेछ । जसबाट यो पुस्ताका प्रत्येक विद्यार्थीले आफ्नो जीवनकालमा १६ हजार डलरको आय गुमाउनुपर्नेछ । र, समग्र विश्व अर्थतन्त्रमा १ सय खर्ब डलरको आय नोक्सानी हुनेछ ।
‘विद्यालय जान नपाउँदा विद्यार्थीलाई थुप्रै तरिकाले असर गर्छ– बालबालिकाले सिक्ने अवसर गुमाउँछन्, विद्यालयमा उनीहरूले पाउने पोषणयुक्त खाना गुमाउनेछन्, जुन कैयौँ विद्यार्थीका लागि एक मात्रै राम्रो पोषणको स्रोत रहेको छ । विशेष गरी केटीहरूले शिक्षा पूरा गर्ने अवसर गुमाउन सक्छन् । उनीहरूको आफ्नो प्रतिभा उजागर गर्न यो महाव्याधिले रोक्न सक्छ,’ विश्व बैंककी मानव विकास उपाध्यक्ष एन्नेते डिक्सन भन्छिन्, ‘तीव्र, निर्णायक र समन्वित पहलकदमी भएन भने यो संकटले कडा संघर्षबाट प्राप्त गरेको मानव पुँजीमा ठूलो धक्का लगाउनेछ । र, लाखौँ विद्यार्थीको आजीवन अवसर गुम्नेछ ।
न्यून र मध्यम आय भएका मुलुकका ५३ प्रतिशत बालबालिका १० वर्षको उमेरसम्म राम्ररी लेखपढ गर्न नसक्ने अवस्थामा छन् । यो महाव्याधिले ती मुलुकको लर्निङ पोभर्टीसमेत बढाउने भएको छ । विश्व बैंकको विश्व अर्थतन्त्रको प्रक्षेपणअनुसार पनि महाव्याधिका कारण आयमा धक्का पुग्दा प्राथमिक र माध्यमिक तहका कम्तीमा ७० लाख बालबालिकाले विद्यालय छोड्ने आकलन छ । महाव्याधिको आर्थिक प्रभाव गहिरिँदै गए, यो संख्या थपिँदै जानेछ ।
संकटको क्षति न्यूनीकरण गर्ने अहिले विश्वका १ सय ३० मुलुकले दूरशिक्षालगायतका सिकाइ प्लार्टफर्ममा लगानी गरिरहेको जनाएको छ । साथै, अहिलेको यो समयलाई एउटा प्रभावकारी, समतामूलक, विद्यार्थीको आवश्यकतामा आधारित र समावेशी शिक्षा प्रणाली निर्माण गर्ने अवसरका रूपमा प्रयोग गर्ने सल्लाह दिएको छ ।
यो समाचार आजको नयाँ पत्रिकामा नारायण शिवाकोटीले लेखेका छन ।