Aamsanchar

विश्व योग दिवस, शिवबाट शुरुवात भएका योगविधाहरुबारे जानकारी राखौं ।

Author Image
आइतवार, असार ७, २०७७

विश्वले बिगुल फुकेको छ, विकास र सभ्यताको उचाई थपिएको छ भन्ने । फर्केर हेर्दा विश्व अहिलेभन्दा पहिलेनै अझै सभ्य, समृद्ध अनि स्वस्थ रहेको प्रमाण छ । विश्व धेरै अर्थमा पछाडी फर्किरहेको छ, यसका प्रमाणहरु मध्य एउटा ज्वलन्त प्रमाण हो योग अभ्यास । ओखढुङ्गा देखि ओक्लोहमा सम्म, कोरीयादेखि खोरिया सम्म विहान-विहान घर अगाडि सुकुल विछ्याएर योग अभ्यास गर्ने मान्छेहरुको उपस्थिती देखिन्छ । एकहिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अनि योगलाई धर्मसंग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्दछ, हैन र ?


योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।

आउनुहोस् हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौं । पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ ।

योग सूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार अादिनाथ भग्वान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।

विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ वाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।

आधूनिक चिकित्सापद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितीको मुल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिकालागि पनि योग एकमात्र सरल र सहज उपाय हो । समयको पावन्दी भन्दा पर सम्म योगले चित्त पूर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट लेखिएको हामीले पायौं । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्त् मानिएको छ । भगवान गाैतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरु प्रशस्त पुस्तक र उदाहरणहरुले बयान गरेका छन् ।

योग वास्तवमै गहिरो विषय भएकाले लरतरो शब्द र ब्याख्या मार्फत् परीभाषित हुने कुरा पक्कै हैन, तथापी योगको महत्व आजको घम्साघम्सि सहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ । कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा रहनेछन् । अरबपतिदेखि साधू सन्तसम्म हामीसबैले छातीमा हात राखेर उत्तर दिन जरुरी छ; के हाम्रो जीवनमा शान्ति छ त ? हामी खुशी छौं त ?

मानव स्वभावले नै आत्मनियन्त्रण भन्दा पर, चञ्चले अनि भौतिक प्राप्तिकालागि लोभ, मोह तथा भोगमा लिप्त प्राणी हो, संसारमा मानव मात्र एउटा प्राणी हो जो खानैकालागि जीवनभर पैसा-पैसा गर्दै यता उता भाैतारींरहन्छ यो अन्य प्राणीमा लागू हुँदैन । तर जीवनको वास्तविक मुल्य र शान्तिको विशुद्ध अवधारणा भौतिक प्राप्ती भन्दा कोशौं पर छ । यसो भन्दै गर्दा योग अपनाउन भौतीक संसारभन्दा पर बसेर साधू सन्त नै बन्नु पर्छ भन्ने हैन्, योगको अवलम्बवन गर्नाले र योगको महत्व वास्तवमै बुझ्नाले दैनिक जीवन र स्वास्थमा समेत हामी सफल र निरोगी हुने पक्का छ । समतामूलक विश्वकालागि योग जरुरी छ, योग जीवन हो र यसका बारेमा थप अध्ययन गरौं, अपनाऔं र खुशी अनि शान्त जीवन प्राप्त गराैं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 592

प्रतिक्रिया (०)