बिर्तामोड । केही दिनदेखि दिउसो २ बज्यो की प्रहरीहरु सिट्टी फुक्दै र कराउदै बजार बन्द गराउदै आएका थिए । त्यसो गर्नु उनिहरुको डिउटी र माथीको आदेश पालना थियो ।
अब बिर्तामोड बजार अब दिनभर खुल्ने भएको छ । व्यवसायीको तीव्र दवावपछि बिर्तामोड बजार बिहानदेखि बेलुकासम्म खुल्ने भएको हो । बिहान आठ बजेदेखि बेलुका पाँच बजेसम्म बजार खोल्ने निर्णय बिर्तामोड नगरपालिकाको बिपद् व्यवस्थापन नगर समितिले गरेको छ ।
बुधवार बसेको बैठकले दिनभर बजार खोल्ने निर्णय गरेको हो । यसअघि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बजार खुल्दै आएको थियो । नगरपालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर सामाजिक दुरी कायम गर्दै व्यापार व्यवसाय गर्न आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले पनि मापदण्ड अनुसार बजार तथा पसल सञ्चालन गर्नु पर्नेमा जोड दिँदै त्यसको नियमित अनुगमन हुने जनाएको छ ।डीएसपी मुकुन्द रिजालले पूर्णरुपमा स्वास्थ्य सुरक्षाको पालना गर्दै बजार खोल्नु पर्ने बताए ।
‘कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सबै किसिमका सावधानी अपनाउनु पर्छ’, डीएसपी रिजालले भने, ‘यसमा व्यवसायिक संस्थाको नियमित अनुगमन भए सजिलो हुन्छ ।’ उनले प्रहरी एक्लैले सबै कुराको जिम्मेवारी लिन मुस्किल हुने भन्दै सहयोगको खाँचो रहेको औँल्याए ।