Aamsanchar

मेचीनगरमा उच्च सर्तकता, झापामा समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्का

Author Image
सोमवार, साउन १२, २०७७

बिर्तामोड । झापाको मेचीनगरको केही क्षेत्रमा समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्का गरिएको छ । आशङ्का संगै मेचीनगरमा सचेतना र सावधानीमा अझ कडाई गर्न सुरु गरिएको छ । आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए ।

गत शुक्रबार एकै दिन पूर्वीनाकामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का बढेको हो । आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिएकीछन । ‘तर ५८ जनाको रिर्पोट नेगेटिभ आएको छ । अझ पनि यो नतिजालाई मात्र कोरोना समुदायमा फैलिएको छैन भनेर ढुक्क हुने अवस्था छैन ।’

मेचीनगर संगै झापा जिल्लामा पनि समुदायमा कोरोना फैलिएको हुनसक्ने अनुमान गरेर जिल्ला प्रहरी झापाले सर्वसाधरणलाई मास्क लगाउन अनिवार्य गरेको छ । मास्क नलगाई हिडडुल गर्नेलाई चेतावनी स्वरुप २ घण्टा सडकमै उभ्याउने कार्यक्रम सुरु गरेको छ । यो कार्य गर्न आवसेक पनि रहेको हुँदा नागरिकको तर्फबाट प्रहरीको कदमलाई स्वागत गरेका छन ।

हालसम्म मेचीनगरमा ७० जनामा कोभिड–१९ को संक्तमण पुष्टि भइसकेको छ भने ४६ जना निको भएर आइसकेको र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बरालले ‘मास टेस्टिङ’लाई आगामी दिनमा जारी राखिने बताए । अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)