Aamsanchar

बिर्तामोडमा जतीबेला पनि निषेध आज्ञा जारी हुनसक्ने

Author Image
बुधवार, साउन १४, २०७७

बिर्तामोड । झापा बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमितहरु कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गरी बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारी गरेको छ ।कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समिति बिर्तामोडको आज बसेको बैठकले कोरोना संक्रमण समुदायमा सरेको पुष्टि हुने बित्तिकै निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

बैठकमा समुदायमा संक्रमण सरेको पुष्टि हुने बित्तिकै निषेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको नगरपालिकाका नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले बताइन् । बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएकाहरुलाई पहिचान गरी बिर्तामोड नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएका बिर्तामोडका ७० जनाको नामावली तयार गरी उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।

उनले ती आशंकितहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । ‘कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट पोजिटिभ आउने बित्तिकै निषेधाज्ञा लागू गर्छौ’, उपप्रमुख प्रसाई भनिन् । त्यस्तै कोरोना संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्ने, बेलुका ५ बजेदेखि बजार बन्द गर्ने, आफै संवेदनशील भएर भीड घटाउने, शंकास्पद संक्रमितहरुको पहिचान गर्ने, सर्वसाधारणलाई सचेत गराउनेजस्ता निर्णय गरिएको उपप्रमुख प्रसाईले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर