सामान्यतया यस दोषको निवारण निम्नानुसार गर्न सकिन्छ
१, दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने ।
नमस्ते कोणसंस्थाय पिङ्गलाय नमोस्तुते। नमस्ते विभुरूपाय कृष्णाय च नमोस्तुते॥
नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च। नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो॥
नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते। प्रसादं कुरु देवेश दीनस्य प्रणतस्य च॥
शनैश्चर नमस्तुभ्यं नमस्तेत्वथ राहवे। केतवेथ नमस्तुभ्यं सर्वशान्ति प्रदो भव।।
ॐ ऊर्ध्वकायं महाघोरं चण्डादित्यविमर्दनम्। सिहिंकायास् सुतं रौद्रं तं राहुं प्रणमाम्यहम्।
ॐ पातालधूमसङ्काशं ताराग्रहविमर्दनम्। रौद्रं रौद्रात्मकं क्रूरं तं केतुं प्रणमाम्यहम्।।
२, पितृदोषको विवेचना गर्ने क्रममा ज्योतिषशास्त्रमा मतैक्य नरहे पनि मनुष्यको जन्मकुण्डलीमा राहु वा केतु सूर्य, शनि र बृहस्पतिमध्ये कुनै ग्रहसँग एउटै राशीमा उपस्थित रहँदा त्यसलाई पितृदोष नै माने चलन छ। पितृदोषको प्रभावले परिवारका सदस्यहरू माझमा अन्तर्कलह, आर्थिक कष्ट, मतभेद, पितापुत्रमा मनोमालिन्य र उन्नतिमा अवरोध जस्ता कष्टहरू खेप्नु पर्दछ। त्यसैले व्यक्तिले शनि र राहुको संयोगले हुने यस अनिष्ट दोषको निवारण गर्नु आवश्यक हुन्छ।
अमावस्या(औंसी) तिथिका स्वामी पितृदेवतालाई मान्ने गरिन्छ। यस दिन पितृलाई सम्झने दिन पनि हो। धार्मिक र सांस्कृतिक दृष्टिले यस तिथिलाई पितृदोष निवारण गर्ने विशेष दिनका रूपमा लिइन्छ। अमावस्या (औंसी) तिथिमा तीर्थस्नान गर्नु पर्छ। श्राद्धाधिकार भएमा तीर्थश्राद्धसमेत गर्नुपर्छ र त्यसपछि नदी, सरोवर वा पानीको स्रोत नजिकै बालुवा, माटो वा धातुको शनि, राहु र केतुको प्रतिमा बनाई ती प्रतिमालाई कालो कपडा, काला रङका पूजनसामग्री (चन्दनाक्षतादि) र कालो कमलको फूल वा कुनै फूल चढाएर श्रमिक, मजदूर, माग्ने (भिखारी वा याचक) वा गरीवगुरुबा (सकिन्छ भने २३ को सङ्ख्यामा) लाई आफ्नो गच्छेअनुसार भोजन, वस्त्र, आभूषण, दक्षिणा आदि बाँड्नु पर्दछ। त्यसरी मूर्तिको स्थापना गर्दा मध्यभागमा शनिलाई र शनिको दायाँतर्फ राहु तथा शनिको बायाँतर्फ केतुको प्रतिमा स्थापना गर्नुपर्दछ।
माथिका उपायमध्ये कुनै एउटा उपायको अवलम्बन गरेमा शनि ग्रहको पीडाबाट मुक्तिहुने कुरा ज्योतिशविदहरू बताउँदछन्।