अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले बिभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनकारुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्गप्रति रिसिबि र इख राख्न पाइदैन ।
आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएकोछ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ र शहरमा पनि गाइजात्राको मनाइँदै आइएको छ ।
अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरु नजिकिंदै गरेको सङ्केत पनि गर्दछ । पारीलो घाम, उज्याला दिनहरु, चिसिंदै गरेका बतास अनि खेतको सकिएको रोपाँई । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।
हास्यकलाकारहरु आ(आफ्ना प्रहसन, ब्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचरी, सिपाही र चियापसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृती, घटना, परिघटनाको हाँस्यास्पद सारांश हो गाईजात्रा । काठमाण्डौ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र जमघट रहन्छ । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरु १० देखि १५ दिनसम्म चल्दछन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यसअवधिभर गाईजात्रामय हुने गरेका छन् । खाडी देखि अमेरिका, यूरोप लगायत जापानसम्म, नेपालीहरु जहाँजहाँ छन् त्यहाँ त्यहाँ गाईजात्रा बिभिन्न स्वरुप र प्रारुपमा मनाइन्छ ।
हिमाल, पहाड, तराईसम्म यो सालको गाईजात्राले हाँसो र खुशीको फोहोरा निकाल्न सकोस् । विकृती र भ्रष्टाचारीको भण्डाफोर होस् भने सुस्कारको तारिफ होस् । अर्कोतर्फ प्रियजनको मृत्यूपछि निराशा हैन शक्तिकासाथ अघि बढ्ने एउटा उर्जा भर्न सकोस् । दिवङ्गतलाई श्रदान्जली, बाँचेकालाई शक्ति र अघि बढ्न आवश्यक खुशीमन प्रदान गर्न सकोस् ।